राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

hitkhabar.com


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर संकटको घेरामा रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन्।

संविधान दिवसको अवसरमा आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध राष्ट्रिय एकता अपरिहार्य रहेको उल्लेख गरे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा जनयुद्धको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै भने, “७० वर्षदेखि थाती रहेको संविधान सभाबाट संविधान निर्माणको कार्य हजारौंको बलिदानबिना सम्भव थिएन।”

अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी, समानुपातिक प्रतिनिधित्वजस्ता विषय संविधानमै समावेश हुनुपर्ने माग माओवादीले निरन्तर उठाउँदै आएको बताए। हालको राजनीतिक परिस्थितिमा माओवादी केन्द्रको विचार झन् सान्दर्भिक भएको उनको भनाइ थियो।

हालै सम्पन्न जेन्जी आन्दोलनको सन्दर्भमा प्रचण्डले सरकारको बल प्रयोगप्रति आपत्ति जनाउँदै, माओवादी केन्द्रले सुरुदेखि नै संयमता अपनाउन आग्रह गरेको स्मरण गराए। उनले आन्दोलनले उठाएका जायज मागलाई सम्बोधन गर्दै संविधानको रक्षा गर्ने जिम्मेवारी माओवादी केन्द्रले निर्वाह गरेको बताए।

“हामीले जेनजीहरुको बलिदानको सम्मान गर्दै संविधानको रक्षा र राष्ट्रपतिको गरिमा कायम राख्ने खालको राजनीतिक विकल्प प्रस्तुत गरेका हौं,” प्रचण्डले भने। उनले अन्तरिम सरकार र तोकिएको निर्वाचन मिति अनुसार अघि बढ्नुपर्नेमा पनि जोड दिए।

उनले थपे, “नेपालले यति ठूलो चुनौती कहिल्यै भोगेको थिएन। पूर्खाले मिहिनेत गरेर जोगाएको राष्ट्र हामीले बचाउन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न अहिले हाम्रासामु छ। त्यसैले सम्पूर्ण राष्ट्रप्रेमीहरू एकताबद्ध हुनु जरुरी छ।”

बैठकमा माओवादी केन्द्रका नेताहरू र जनप्रगतिशील मञ्चका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया