बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

hitkhabar.com


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिने प्रयासप्रति कडा आपत्ति जनाएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिंदै कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि प्रयास नेपाली समाजका लागि अस्वीकार्य रहेको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, “कुनैपनि कोण र बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन । यस प्रकारको विधेयकको मस्यौदा सरकारको सम्बन्धित मन्त्रालयले गरिरहेको छ भन्ने विषयले नेपाली समाजलाई तरंगित र क्षुब्ध बनाएको छ । सरकारले यस प्रकारको कार्य तत्काल रोकोस् ।”

श्रेष्ठले यस्तो विधेयक सामाजिक न्याय, समानता र मानवअधिकारको मूल्यमान्यता विपरीत हुने बताउँदै सरकारलाई तत्काल रोक लगाउन आग्रह गरेका छन् ।

हालै बहुविवाहसम्बन्धी कानुन संशोधन प्रक्रियापछि देशव्यापी बहस सुरु भएसँगै नागरिक तहमा यसको तीव्र विरोध भइरहेको छ ।

प्रतिक्रिया