काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम तिव्र गतिमा सम्पन्न गरिने बताएका छन् ।
मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको छलफलमा उनले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी विधेयक सर्वसहमतीले पास भइसकेको भन्दै अब शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम गर्ने र शान्ति सम्झौताको समयमा भएका सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको बताए ।
उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गरिनेछ । यसको विधेयक पनि सर्वसहमतिले पास भइसकेको छ । शान्ति सम्झौताको समयमा भएका सहमती, समझदारी एंव सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको छ । जनआन्दोलन र जनयुद्ध, मधेश आन्दोलन लगायतको विविध राजनीतिक आन्दोलनमा घाइते एंव अपाङ्को सूचि अडिट गर्न देखिएको समस्याको खोजी समाधान गर्न उच्च स्तरीय समिति गठन गरिने छ । आर्थिक वर्ष २०८१/८२ को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी बजेट वक्तव्यमा शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम सम्पन्न गर्ने भनेर लेखिएको छ ।’
यस्तै, उनले आर्थिक वर्ष २०८१/८२ को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी बजेट वक्तव्यमा द्वन्द्व पीडितहरु परिवारलाई क्षतिपूर्ती, आर्थिक सहायता, पुनस्थापनाका लागि शान्ति कोषको स्थापना गरि एक अर्ब विनियोजन गरिएको पनि बताए ।