काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको छ। समितिले शर्मालाई प्रधानन्यायाधीश पदका लागि उपयुक्त नभएको ठहर गर्ने आधार र प्रमाण भए उजुरी पेश गर्न आग्रह गरेको हो।
समितिद्वारा जारी सूचनाअनुसार उजुरी दिन इच्छुक व्यक्तिले स्पष्ट कारण, तथ्य र प्रमाणसहित १० दिनभित्र निवेदन दर्ता गराउनुपर्नेछ। उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, ठेगाना तथा सम्पर्क नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
यद्यपि, उजुरीकर्ताको चाहनाअनुसार उसको परिचय गोप्य राखिने समितिले जनाएको छ। साथै, जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त हुने उजुरीहरू तोकिएको समयसीमाभित्र समितिको सचिवालयमा पठाइदिन पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
09 May 2026