काठमाडौं । सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत महामहिम श्री माएदा टोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सभामुखको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–जापानबीचको लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो।
भेटका क्रममा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा, पूर्वाधार तथा प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने अपेक्षा पनि राख्नुभयो।
त्यस्तै, जापानी राजदूत माएदा टोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।