काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गराउने प्रयासलाई निरन्तरता दिने बताएका छन् ।
आज(शुक्रबार) पूर्वउपप्रधानमन्त्री तथा बरिष्ठ नेता वामदेव गौतम नेकपा एसमा प्रवेश गरेपछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अबको आवश्यकता पार्टीलाई बलियो बनाउने रहेको बताए ।
‘नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन हाम्रो भूमिका महत्वपूर्ण छ,’ अध्यक्ष नेपालको भनाइ थियो, ‘क्रान्तिकारी शक्ति एकताबद्ध नभएसम्म मुलुकमा स्थायित्व र विकास सम्भव हुँदैन ।’
उनले पार्टी बलियो भएमा सबैले सुन्ने तर कमजोर पार्टीको कुरा सुन्ने कोही नहुने भन्दै संगठित र मजबुत बन्नुपर्ने धारणा राखे ।
‘एकता भयो कि भएन भनेर गीत गाएर वा कुरेर बस्ने बेला होइन,’ उनले भने, ‘आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, शक्ति बलियो बनाउनु पर्छ ।’
पूर्वउपप्रधानमन्त्री वामदेव गौतम केही समयदेखि पार्टीविहीन थिए । उनको पुनः औपचारिक पार्टी प्रवेशसँगै नेकपा एसभित्र नयाँ शक्ति थपिएको बताइएको छ ।