तराई । साउन शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व तराईका विभिन्न जिल्लाहरूमा श्रद्धा, भक्ति र सांस्कृतिक परम्पराका साथ मनाइएको छ। हिन्दू धर्मावलम्बीहरूको अगाढो आस्थासँग सम्बन्धित यो पर्व विशेषगरी सर्पदेवताको पूजा–आराधना गर्ने पर्व हो।
तराईका ग्रामीणदेखि शहरी क्षेत्रसम्म नाग पञ्चमीको दिन बिहानै घरका आँगन, मूलढोका, तुलसीको मठ वा भित्तामा गोबर अथवा माटोको सर्प आकृति बनाई त्यसको पूजा गर्ने परम्परा छ। नागको प्रतीक स्वरूप बनाइएका आकृतिमा दूध, लावा, अक्षता, दुबो, चन्दन, फुल र दही चढाइन्छ।
धार्मिक मान्यता अनुसार नाग पञ्चमीका दिन सर्पदेवताको पूजा गर्दा घर–परिवारमा सुख, शान्ति र रोग–व्याधिबाट रक्षा हुन्छ भन्ने विश्वास छ। सर्पलाई देवताको रूप मानेर पूजा गर्ने भएकाले यस दिन सर्पलाई मार्न निषेध गरिएको छ।
कतिपय स्थानमा नाग पूजा गरिसकेपछि नाग–नागिनीको धार्मिक कथा सुन्ने चलन पनि रहिआएको छ। महिलाहरू विशेष रूपमा व्रत बसेर पूजा गर्ने चलन पाइन्छ। ग्रामीण क्षेत्रमा अझै पनि महिलाहरूले गोबरबाट सर्पको आकृति बनाई त्यसको पूजा गर्छन्।
कथनअनुसार नागदेवताका पूजा गर्दा घरमा सर्पले क्षति नपुर्याउने, नागदोष नलाग्ने र वंशवृद्धि हुने विश्वास गरिन्छ। यसै कारण, नाग पञ्चमीलाई सर्पसँगको सौहार्दपूर्ण सम्बन्ध प्रकट गर्ने पर्वका रूपमा समेत लिइन्छ।
तराईका बर्दिया, पर्सा, सर्लाही, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, कैलाली लगायतका जिल्लामा यो पर्व अत्यन्त श्रद्धाका साथ मनाइएको स्थानीय धार्मिक अगुवाहरूले जनाएका छन्।
नाग पञ्चमी हिन्दू संस्कृति र प्रकृतिप्रतिको सम्मानको प्रतीक पर्व हो। यस अवसरमा पूजा, प्रार्थना र सर्पप्रतिको श्रद्धा व्यक्त गरेर मानिसहरूले आफ्नो धार्मिक दायित्व पूरा गर्छन्।