जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता : प्रधानमन्त्री

hitkhabar.com


काठमाडौं । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले देशबासीका नाममा पहिलो पटक सम्बोधन गरेकी छन् । बिहीबार राष्ट्रलाई सम्बोधन गर्दै उनले आन्दोलनमा ज्यान गुमाउनेहरुलाई शहीद घोषणा गर्ने र दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाइन् ।

सम्बोधनमा कार्कीले शहीद परिवारलाई आर्थिक राहत र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गरिएको बताइन् । उनले भनिन्, “जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनेलाई शहीद घोषणा गरिनुका साथै परिवारलाई राहत, घाइतेलाई उपचार र क्षतिपूर्तिको व्यवस्था गरिएको छ । दोषीलाई शक्त कानुनी कारबाही हुनेछ ।”

यसैगरी उनले जटिल परिस्थिति समाधानका लागि आगामी फागुन २१ गतेभित्र आम निर्वाचन गरिने जानकारी दिइन् । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने सम्भावनाबारे पनि छलफल भइरहेको उनले बताइन् ।

प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचन निस्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी सुरु भइसकेको छ । “निर्वाचनका लागि आवश्यक जनशक्ति, बजेट, सामग्री, सुरक्षा तथा कानुनी व्यवस्थाबारे निर्वाचन आयोगसँग छलफल भइसकेको छ,” उनले भनिन् ।

संविधान संशोधन र शासकीय स्वरूप परिवर्तनबारे भने कार्की स्पष्ट भइन् । उनले अन्तरिम सरकारलाई त्यस्तो अधिकार नभएको भन्दै भनिन्, “६ महिने कार्यकालमा आन्दोलनमा उठाइएका सबै माग सम्बोधन गर्ने अवस्था छैन । तर, जे–जति गर्न सकिन्छ, त्यसमा इमानदार प्रयास हुनेछ । संविधान र शासन प्रणालीबारे जेनजी पुस्ताले उठाएको प्रश्न वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय हो ।”

प्रतिक्रिया