मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने तयारीमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि लामाले पदबाट हट्न छलफल थालेका हुन् ।
कांग्रेस सभापति देउवाले बिहीबार काठमाडौंमा मुख्यमन्त्री लामालाई बोलाएर भेट गरेका थिए । भेटमा उनले पार्टीभित्रको विवाद चाँडै समाधान गर्न सुझाव दिएका थिए । ूपार्टीभित्रको कुरा धेरै नलम्ब्याऔं, कसैलाई फाइदा नहुने विवादमा नअल्झिऔं,ू देउवाको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।
देउवाको निर्देशनपछि लामा अहिले आफूनिकट सांसदहरू र मन्त्रीहरूसँग छलफलमा जुटेका छन् । उनी बागमतीमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने सर्तमा राजीनामा गर्न सक्ने अवस्थामा पुगेका छन् ।
मुख्यमन्त्री लामाले पद त्यागेपछि आफूनिकटका सांसद र मन्त्रीहरूको व्यवस्थापन कसरी हुन्छ भन्नेबारे पनि सभापति देउवालाई प्रश्न गरेका थिए। जवाफमा देउवाले सबैलाई मिलाएर लैजान निर्देशन दिएका थिए ।
लामाले आफूपछि आफ्ना समर्थक सांसदहरूले प्रभावशाली मन्त्रालय पाउनु पर्ने अडान राखेका छन् । विशेषगरी आर्थिक मामिला मन्त्रालय आफूनिकट मन्त्रीलाई दिनुपर्ने उनको माग छ ।
यता, लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जना सांसदलाई मन्त्री नियुक्त गरिएको भए पनि प्रदेश प्रमुखको स्वास्थ्य अवस्था कमजोर भएको कारण उनीहरूको सपथ हालसम्म स्थगित छ ।
लामाको पक्षका एक सांसदका अनुसार, यदि आफूनिकट नेताहरूको व्यवस्थापन सुनिश्चित भएन भने मुख्यमन्त्रीले पद नत्याग्ने र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने तयारी गरेका छन् ।