काठमाडौं । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरे पनि परिवर्तनको एजेन्डा भने कहिल्यै नछाड्ने बताएकी छन्।
आइतबार विहान फेसबुकमार्फत पार्टी छाडेको घोषणा गरेलगत्तै दिउँसो पुनः फेसबुक लाइभमा आएर उनले आफूले बोकेको एजेन्डा अझै निरन्तर रहने स्पष्ट पारिन्।
शुभचिन्तकलाई धन्यवाद दिँदै श्रेष्ठले भनिन्, “मैंले पार्टी छाडेको हुँ तर पार्टीभित्र बोकेको एजेन्डा भने कहिल्यै छाडेको छैन्।”
उनले जेनजी पुस्तालाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिइन्। “परिवर्तनको एजेन्डा बोकेका जेनजी युवापुस्तालाई सबैले साथ दिनुपर्छ,” श्रेष्ठले भनिन्।
श्रेष्ठले मन्त्री पदका लागि नभई जेनजी पुस्ताका भाइबहिनीलाई साथ दिनकै लागि पार्टी छाडेको दाबी गरिन्। पार्टीभित्र गर्न नसकेको काम अब बाहिरबाट गर्ने उनको अठोट छ।
भावुक हुँदै उनले अन्त्यमा भनिन्, “हामी सबैले चाहेको परिवर्तन हो। कुनै पार्टीभित्र बसेर जेनजीको क्रान्ति बिथोल्न हुँदैन। कुनै दल नसोच्नुस्, सबै मिलेर नयाँ नेपाल बनाउन लाग्नुस्।”