स्थानीय सरकारलाई अधिकार दिन कन्जुस्याँई गर्नुहुन्न : राष्ट्रपति पौडेल

Sharing is caring!

असोज ८, २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह र प्रदेशहरुलाई अधिकार दिन कन्जुस्याई गर्न नहुने बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन समारोहमा बोल्दै उनले देशका मुख्य शासकले कन्जुस्याँई नगरी अधिकार दिए देश बद्लिन सक्ने बताए ।

उनले भने, ‘संघीयताको मर्म अनुसार स्थानीय तह र प्रदेशहरुलाई अधिकार दिन कन्जुस्याँई भएको छ । अब त्यो हुनु हुँदैन् । अब दिल खोलेर जनतालाई अधिकार निश्चीत गर्नुपर्छ । अधिकार दिन कन्जुस्याँई गर्नु हुँदैन । खासगरी देशका तीन जना मुख्य शासकहरु प्रचण्ड, ओली र शेरबहादुर देउवा ज्यूलाई बोलाएर भन्छु अधिकार दिन कन्जुस्याईं नगर्नुस् तपाईहरुले चाहानु भयो भने देश बद्लिन सक्छ । ’ निजामती ऐन र प्रहरी समायोजनका लागि पहल गर्न समेत आग्रह गरेपछि राष्ट्रपति पौडेलले अब सबै अधिकार पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश सरकारलाई बलियो बनाउन आवश्यक भएको बताए । उनले प्रहरी तथा निजामती ऐन पारित विनाको प्रदेशको कल्पना गर्न नसकिने हुनाले मधेश प्रदेशको विकासको अवरोध नै यी दुई विधेयक पारित नहुनु रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले देशको सबैभन्दा ठूलो समस्या नागरिकता विधेयक प्रमाणिकरण गरेर लाखौं नेपाली नागरिकलाई आफ्नो हक अधिकार दिएको भन्दै राष्ट्रपति पौडेलको प्रशंसा गरे ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका, मुख्यमन्त्री कार्यालयलगायत विभिन्न निकायले राष्ट्रपति पौडेललाई सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *