ओली–दाहाल गलाउने माधवको अडान

Sharing is caring!

वैशाख ७, २०८१ । बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै संवाद गरे । कारण एउटै थियो– सुदूरपश्चिमको मुख्यमन्त्री चयन ।

एमाले समेतको समर्थनमा मुख्यमन्त्रीमा दिर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको तयारी थियो । तर, एमालेले नमानेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका हुन् । कांग्रेस एकीकृत समाजवादीको उम्मेदवारलाई समर्थन गर्न तयार भएपछि एमाले आफ्नो अडानबाट पछि हट्यो । एमाले पछि हटेपछि एकीकृत समाजवादीले एमाले र माओवादी केन्द्र सम्मिलित गठबन्धनबाटै मुख्यमन्त्रीमा दाबी पेश गर्यो । सोडारी बिहीबार नै मुख्यमन्त्री नियुक्त भएका छन् ।

निकै रस्साकस्सीकाबीच बिच मुख्यमन्त्रीमा दाबी पेश गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुुन् । नेकपा एमाले, माओवादी केन्द, नाउपा (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारी मुख्यमन्त्री भएका हुन् ।

तथापि, सोडारीको मुख्यमन्त्री नियुक्तिको विषयलाइ लिएर कांग्रेर र नागरिक उम्मुक्ति पार्टीका पाँच जना सांसदले प्रश्न उठाएका छन् । नाउपा संस्थापन रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको पक्षधरमा विभाजित छ । सोडारीलाई नाउपाका सांसद लक्ष्मण चौधरीले संसदीय दलको नेताको रुपमा समर्थन गरेका छन् । तर, उनी संसदीय दलको नेता औपचारिक रुपमा भइसकेका छैनन् । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले लक्ष्मणकिशोर चौधरीलाई प्रदेश संसदीय दलको नेताबाट हटाएर लक्ष्मण चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी दिएको पत्र प्रदेश सभा सचिवालयमा पठाउकी छन् । तर, सभामुखले उक्त पत्र सदर गरेका छैनन् ।

प्रतिपक्षीले जे जस्ता प्रश्न उठाएता पनि सोडारीले विश्वासको मत पाएको खण्डमा उनी बहुमत कायम राख्न सक्दासम्म सरकारको नेतृत्वमा रहन्छन् । तर, यो प्रकरणले एकीकृत समाजवादीको राजनीतिक उचाइ बढाएको छ ।

नेपाली कांग्रेस नयाँ गठबन्धनका लागि एकीकृत समाजवादीलाई आफने कित्तामा ल्याउन चाहन्छन् । सत्तारु दलहरु संघ र प्रदेशमा आफ्नो सत्ता टिकाइराख्न एकीकृत समाजवादीको साथ निरन्तर चाहन्छ । यसकारण माधव नेपाल ठुला दलहरुको केन्द्र र तानातानमा परेका हुन् ।

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल सत्ताको खेलमा निर्णायक शक्तिको महत्व सुदूरपश्चिम प्रदेशको राजनीतिले स्पष्ट गरिदिएको बताउँछन् ।

उनी भन्छन्, ‘हरेक राजनीतिक दलको महत्व हुन्छ । सुदूरपश्चिम प्रदेशको पछिल्लो घटनाले गठबन्धनको संस्कृतिमा निर्णायक संख्याको महत्व सबैले थाहा पाउने गरी स्पष्ट गरिदिएको छ ।’

आन्तरिक छलफलमा ओली, प्रचण्ड र रवि

नेकपा एकीकृत समाजवादीले कांग्रेससँग समेत प्रदेश सरकार बनाउन समेत तयार रहेको सन्देश प्रवाह गरेपछि केन्द्रीय सत्ता समीकरणमा रहेका रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झस्किएको छ । परिवर्तित अवस्थाबारे बिहीबार मात्रै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेबीच आन्तरिक छलफ भएको छ ।

सिंहदरवारमा भएको भेटमा प्रदेश सरकार गठनको विषयमा सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिबारे छलफल भएको नेताहरु बताउँछन् । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समग्र राजनीति परिस्थितिको समीक्षा गरिएको बताए ।

सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार साँझ भेट गरेका थिए । एमालेले आफूले भने अनुसार नगरे कांग्रेससँग मिलेर सुदूरपश्चिम प्रदेशको नेतृत्व लिने सार्वजनिक अभिव्यक्ति एकीकृत समाजवादीका नेताहरुले दिएका थिए ।

पछिल्लो यही घटनाको विषयमा ओली, प्रचण्ड र लामिछानेबीच छलफल भएको हो । छलफलपछि लामिछानेले प्रदेशमा देखिएका समस्याले केन्द्रीय गठबन्धनमा असर नपार्ने बताएका छन् ।

उनले भनेका छन्, ‘सुदूरपश्चिम सरकार गठनमा देखिएको विवाद वा छलफलले केन्द्रीय सत्ता गठबन्धनमा कुनै समस्या पैदा भएको छैन ।’ यो खबर मध्यान्हबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *