१० को मृत्यु, मुख्य राजमार्ग अवरुद्ध, तराइका अधिकांश जिल्ला डुवानमा

Sharing is caring!

असार १९, २०७५ । अविरल बर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने करोडौको भौतिक क्षती भएको बिवरण प्राप्त भएको छ । बाढी र पहिरोका कारण राजधानी जोडिने सडक अवरुद्ध भएका छन भने देशभरका मुख्य राजमार्ग अवरुद्ध हुंदा हजारौ यात्री बीच बाटोमा नै अलपत्र परेका छन ।

अबिरल बर्षाका कारण तराईका बिभिन्न क्षेत्र डुवानमा परेका छन भने मुलुक भरका प्रमुख नदीहरुमा पानीको बहाव अत्याधिक मात्रामा बढेको कारण स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन निर्देशन समेत दिएको छ ।

अबिरल बर्षापछि आएको बाढीमा परी राजधानीको महादेव खोलाले बगाउदा धमस्थलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रकाश पुर्कुटी रहेका छन । उनको शवलाई प्रहरीले पोष्टमार्टमकालागि अस्पताल लगेको छ ।

अबिरल बर्षाका कारण ५ नम्वर प्रदेशको प्रमुख ब्यापारिक शहर नेपालगन्ज ढुवानमा परेको छ । बाकेंका बिभिन्न भागमा आएको बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलाबहादुर बुढा, लोकबहादुर सुनार, रिमादेवी यादव र रन्जित पासीको मृत्यु भएको बाके प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि राप्तीपारीको नरैनापुर गाउँपालिकाको सदरमुकाम नेपालगञ्जसँग सम्पर्क टुटेको छ । राप्ती नदीमा बाढी आउने सक्ने संभावनालाई मध्यनगर गर्दै जिल्ला दैवी प्रकोप उद्धार समितिले उद्धार टोली र तयारी खाद्यान्न तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ ।

राप्ती नदीमा भारतले बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँधका कारण वर्षेनी डुब्दै आएको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरिसकेको छ । उसले सबै स्थानीय तहलाई बाढीप्रति सचेत रहन र जोखिममा परेकालाई उद्धार र उच्च स्थानमा बासका साथै तयारी खाद्यान्न तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । जिल्ला प्रशासन कार्यालयका प्रवक्ता खगेन्द्र पौडेलले बाढीपीडितलाई उद्धार गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउनुभयो ।

अविरल बर्षापछि नेपालगन्जका सडक पूरै अबरुद्ध भएको छ । नेपालगञ्जको मुख्यबजार क्षेत्र डुवानमा परेका छन् । सेतुविक चोक, न्यूरोड, बसपार्क, घरबारीटोल, धम्बोझी, गणेशपुर, फूल्टेक्रा, बुलबुलिया, बेलासपुर जलमग्न भएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले राम्ररी नाली सफा गरेर निकास दिन नसकेपछि यो वर्ष अलि धेरैबेर परेको पानीले दर्जनबढी ठाउँ डुवानमा परेका छन् । नेपालगञ्जका यी बजार क्षेत्र भने वर्षेनी डुवानमा पर्ने गर्दछन् निर्माणाधीन हुलाकी सडक निर्माणका क्रममा लापरबाही गरिँदा आवतजावत प्रभावित भएको हो ।

पुल निर्माणको काममा ढिलाई हुँदा उचित डाइभर्सनको अभावमा गएरातिदेखि आवतजावत ठप्प भएको छ । ‘ठाउँ–ठाउँमा पुल बनिरहेका छन् तर पुल बनाउनुअघि डाइभर्सन बनाउनुपर्ने मापदण्डलाई बेवास्ता गरिएकाले अहिले पानी परिरहँदा सडक पूरै सडक अवरुद्ध भएको छ,’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आक्रोश पोख्नुभयो ।

घरहरु डुबानमा
अविरल बर्षापछि कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका दर्जनौं घर डुबानमा परेका छन् ।
पानीको सहज निकास नभएका कारण सयौं घरहरु डुबेका हुन् । भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि बर्षेनी त्यहाँका गाउँहरु डुबानमा पर्ने गरेका छन् । ‘एक त लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले बर्षेनी डुबान हुन्थ्यो, अब त झन् भारतले सीमामा बाँध जस्तो सडक बनाएपछि समस्या थपिएको छ,’ अध्यक्ष शाहले भन्नुभयो ।

शिशुसहित तीनको मृत्यु
रोल्पामा सोमबार बिहान पर्खाल भत्कीदा च्यापिएर १ नाबालक सहित ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको रूण्टीगढी गाउपालीका ५ सैबाङमा अबिरल बर्षा पछी स्थानिय अशोक घर्तीको पर्खाल भत्किदा भान्सा कोठा पुरिदा च्यापिएर मृत्यु भएको हो ।

ढुङ्गा माटोले बनेको पर्खाल भत्किएर कच्ची भान्षा घरले च्यापिदा राजकुमार बिकको श्रीमती कमला बि.क,१८ दिन कि छोरी आयुषा र स्थानीय चित्रा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनु भएको छ ।

बिहान ११ बजेरिर सुतकेरी कमलाले नाबालक छोरीलाइ आगोमा सेकाउदै गर्दा घटना भएको हो । च्यापिएर गम्भीर घाइते कमलाको उपचारकोलागी प्राथामिक स्वास्थ्य केन्द्र होलेरी लैजादै गर्दा बाटोमै र २ जनाको घटना स्थलमै मृत्यु भएको प्रहीले जानकारी दिएको छ ।
सोमबार परेको कारण पर्साको पर्सागढी नगरपालिकास्थित पन्थी नदीमा आएको बाढीले बगाउँदा एक विद्र्याीको मृत्यु भएको छ । अर्का एक विद्यार्थी बेपत्ता भएका छन् ।

पर्सागढी नगरपालिका–४ मा रहेको पन्थी नदीमा आएको बाढिले चारजन विद्यार्थीलाई बगाएको थियो । बाढीले बगाएर पर्सागढी नगरपालिका–४ की प्रतिमा रामको मृत्यु भएको हो । बगाएका पर्सागढी–८ का सुरेन्द्र महतोको अवस्था अज्ञात छ । बाढिले बगाएका त्यही गाउँकी संगीता चौरसिया र सुमन पासवानको भने स्थानीयले उद्धार गरेका छन् ।

त्यसैगरी वर्षाका कारण वीरगन्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका छन् । मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती पाएका छन भने वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ ।

घर तथा पसलबाट निस्कने फोहोरहरु जथाभावी सडक र नालामा नै फाल्ने गरिएको कारण नाला जाम भएर वर्षेनी पानी पर्नेवित्तिकै वीरगन्जका अधिकांश सडकहरु तालमा परिणत हुने गरेका छन् ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालले नाला अतिक्रमण गरिएका कारण डुबानको समस्या बर्षेनी देखिएको बताउनुभयो ।

अविरल वर्षा र बाढीले चितवनको माडी–ठोरी सडकखण्डको रौतनी खोलाको पुल भाँसिएको छ । रिउ खोलाको पानी सतह खतराभन्दा माथि पुगेको छ । माडीको रिउ खोलामा पानीको सतहले खतराको लेभल पार गरेको छ । नदीमा खतराको तह ३.५ मिटर रहेकोमा अहिले पानीको सतह ३.५५७ भन्दा बढी पुगेको थियो ।

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ । लु १ ख २३४३ नम्बर जीप पहिरोले परेको थियो । समयमै उद्दार भएको कारण मानवीय क्षती भने हुन पाएन ।

बर्षात शुरु भयो कि दाङमा बाढी र डुवानको जोखिम शुरु हुन्छ । यो बर्ष पनि मनसुन सक्रिय भएसँगै डुबानको खतरा बढेको छ । देउखुरीका विभिन्न गाउँ जलमग्न भएका छन् । खोला तथा नदीको सतहभन्दा वस्ती धेरै उच्च स्थानमा नभएकाले वस्तीहरु डुबानमा पर्ने गरेका छन् । पूर्व पश्चिम राजमार्ग आसपासका वस्तीमा आकासे पानीको निकास नहुदा डुबान बढी देखिएको छ । यद्यपि सोमवार अबेरसम्म मानवीय क्षति भने भएको छैन । लमही नगरपालिका र राप्ती गाउँपालिकाका अधिकांश गाउँ जलमग्न भएका छन् ।

त्यस्तै पश्चिम दाङको ट्वाङखोलामा यात्रुवाहक गाडी बगेको छ भने हेकुली–सुकौरा सडक भत्किएको छ । योबाहेक जिल्लामा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।बबई गाउँपालिका–५ मा रहेको ट्वाँङ खोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको हो ।

त्यस्तै कैलालीमा अबिरल बर्षाको कारण कच्ची घर भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका ९ धनचौरीकी दुथा राना रहेकी छिन ।

अविरल वर्षासँगै बगेको पहिरोका कारण नुवाकोटको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाउंपालिका ७ को १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाइ उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो । १७ घरधुरीका करीब १०० जनालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

विशेषगरी मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम बढी रहेको छ । यस्तै महाभारत तथा पहाडी क्षेत्र, चुरे र महाभारत पर्वत शृङ्खलाको बीचको क्षेत्र, बुटवल–पाल्पा सडकखण्ड, नेपालगञ्ज–सुर्खेत–जुम्ला सडकखण्ड पनि पहिरोको उच्च जोखिममा रहेको छ ।
धनगढी–डडेल्धुरा सडकखण्ड, बनेपा–बर्दिवास, ओखलढुंगा, सोलुखुम्बु, धादिङ, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, पूर्व पहाडका धेरैजसो जिल्लासमेत पहिरोको जोखिममा रहेका छन् । पासाङ ल्हामु राजमार्ग, पृथ्वी राजमार्ग पनि पहिरोको जोखिममा रहेको छ ।यो खबर आजको नेपाल समाचारपत्रमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *