सिंहदरबारमा ‘समझदारी’, बानेश्वरमा ‘असमझदारी’

Sharing is caring!

असार २५, २०८० । बुधबारदेखि अवरुद्ध सदन खुलाउनेबारे सिंहदरबारमा आइतबार भएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच भएको सहमति एकघण्टा पनि टिक्न सकेन । आइतबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग गरेको छलफलमा एमालेले संसद्को अवरोध हटाउने र प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिबारे सदनमा स्पष्टीकरण दिने सहमति भएको थियो । सोही सहमतिअनुसार आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सार्नुभएको थियो । तर, सिंहदरबारमा करिब २ घण्टा भएको तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट आधा घण्टा नबित्दै एमाले अध्यक्ष केपी शर्मा ओली ‘यूटर्न’ भएपछि शीर्ष नेतृत्वको सहमति भाँडिएको हो ।

छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग के समझदारी भयो रु भन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीले ‘भरे देख्नुहुन्छ।।।’ भन्ने जवाफ दिनुभएको थियो । छलफलपछि संसद् भवन बानेश्वर पुग्नुभएका ओलीले फेरि प्रधानमन्त्री प्रचण्डलाई फोन गर्नुभएको थियो । केहीबेर अघि भेट्नुभएका प्रधानमन्त्रीलाई फोन लगाएर प्रमुख प्रतिपक्षी दलका नेता ओलीले असार १८ को घटनाबारे असार २१ मा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिबारे चासो राख्नुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले असार २१ मा जारी गरेको विज्ञप्ति ओलीले आइतबार मात्रै पढेको बताइएको छ । एमाले सांसदहरूका अनुसार बानेश्वरमा पुगेर ओलीले पूरै विज्ञप्ति पढ्नुभएको थियो । त्यसअघि एमालेका प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, अरू नेता र सचिवालयका कसैले पनि ओलीलाई उक्त विज्ञप्तिबारे जानकारी गराएका थिएनन् ।

एमालेका एक सांसदका अनुसार विज्ञप्ति पढेपछि ओलीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गर्नुभएको थियो । ती सांसदका अनुसार प्रधानमन्त्रीसँगको फोनमा अध्यक्ष ओलीले विज्ञप्तिमा एमालेप्रति गम्भीर आरोप लगाउनुभएको रहेछ, त्यो फिर्ता लिन्छु भन्नुस् भन्नुभएको थियो । विज्ञप्तिमा उल्लेख भएअनुसार गल्ती गरेको हो भने प्रमाणित गरेर, समातेर लैजानुभए हुन्छ भनेर ओलीले प्रधानमन्त्री प्रचण्डलाई चेतावनीपूर्ण भाषा प्रयोग गर्नुभएको थियो । ओलीको प्रश्नको जवाफमा प्रधानमन्त्रीले विज्ञप्ति आफूले नलेखेको र सल्लाह गर्ने बताउनुभएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई बालुवाटारबाट फोन गरेर बैठक सोमबारसम्मका लागि सार्न आग्रह गर्नुभएको थियो । सोहीअनुसार सभामुखले सोमबार ३ बजेसम्मका लागि बैठक सरेको सूचना टाँस्न लगाउनुभएको थियो । शीर्ष नेताहरूबीच भएको भनिएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी सोमबारका लागि सरेको छ । एक पुस्तक विमोचन कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक(पटक दिल्ली गएको’ बताएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएको छ । यो खबर हिमालय टाईम्सबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *