गैरआवासीय नेपालीले दोहोरो नागरिकता प्रयोग गर्नुपर्ने माग

Sharing is caring!

असार २४, २०८० । गैरआवासीय नेपालीले दोहोरो नागरिकता प्रयोग गर्न पाउनुपर्ने नेपाली वंशज नागरिक संघको माग गरेका छन् । नेपाली वंशज नागरिक संघले नेपाल नागरिकता ऐन, २०६३ मा गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा भएको संशोधनप्रति आपत्ति जनाएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले नागरिकता ऐन–२०६३ को संशोधनले पहिला प्राप्त भएको नेपाली नागरिकताको निरन्तरता नदिएको र गैर आवासीय नागरिकता लिनुपर्ने व्यवस्था गरेको भन्दै आपत्ति जनाएको हो ।

संघले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा गरेको सर्वेक्षणले पनि सोही कुराको पुष्टी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । नेपाली वंशज नागरिक संघले वंंशजको नागरिकताबाट विमुख गर्ने र नागरिकको अधिकारबाट बञ्चित गर्ने गरि भएको उक्त संशोधनप्रति आफूहरुको गम्भीर असहमति रहेको बताएको छ । नेपाली वंशजका नागरिकता वाहकले राजनीतिक अधिकारसहित सबै प्रकारको अधिकार प्रयोग गर्न पाउनु पर्ने उनीहरुको माग छ ।

नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा रहेको भन्दै संघले वंशजको आधारमा प्राप्त भएको नागरिकताको निरन्तरता कायम नहुने गरि राज्यले कानून निमार्ण गर्न नमिल्ने धारणा सार्वजनिक गरेको छ । नागरिक स्वयंले नागरिकता त्याग गर्न चाहेको अवस्थामा बाहेक राज्यले नागरिकता त्याग गर्न लगाउने कुरा जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको प्रतिकूल हुने संघको बुझाई रहेको छ ।

नेपाल नागरिकता ऐन, २०६३ मा रहेको गैरआवासीय नागरिकता सम्बन्धि व्यवस्था अन्तर्गत प्राप्त हुने नागरिकताले नागरिकहरुमा विभेद गरेको, अधिकारमा बन्देज लगाएको र वंशजको नागरिकता बुझाउनु पर्ने व्यवस्था गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

नेपाल सरकारले गरेको नागरिकता सम्बन्धी यस्तो व्यवस्था मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ को समेत विपरीत हुने संघको विज्ञप्तिमा उल्लेख छ ।

राज्यले वंशजका नागरिकहरुलाई विदेश पलाएन हुन बाध्य बनाउने गरको संघको बुझाई छ । अर्कोतिरबाट नागरिकता ऐन तथा संविधानमा नागरिकता वितरण सम्बन्धमा बारम्बार आधार बर्ष राखेको भन्दै उनीहरुको असन्तुष्टि रहेको छ । नेपाली वंशज नागरिक संघले विश्वभरी छरिएर रहेका वंशज नेपाली नागरिकहरुलाई आफनो तथा आफना सन्तानहरुको वंशजको नागरिकताको निरन्तरताको लागि आवाज उठाउन आग्रह गरेको छ । एक पटक वंशजको नागरिकता पाएको नागरिक सधैंका लागि वंशज हुनुपर्ने उनीहरुको माग छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले नेपालको संविधान २०७२ र नागरिकता ऐन २०६३ ले देशमा धेरै समस्या ल्याएको बताए । २०६३ को नागरिकता ऐन आउनुभन्दा अघि कानुनमा नलेखिएपनि व्यवहारमा दोहोरो नागरिकता कायम रहने परिपाटी रहेको उनले स्मरण गरे ।

कुनै पनि नागरिक रहरले नभएर बाध्यताले विदेशिने उनलको बुझाई छ । यस्तो अवस्थामा विदेशमा आवश्यक पर्ने नागरिकता, स्थायी आवासीय अनुमति पत्र लिएकै आधारमा वंशज नेपालीलाई गैरनेपाली बनाउने नहुने उनको भनाई छ ।

‘यो २०७२ सालको संविधानले थप एउटा समस्या ल्याइदियो, नेपाली वंशजका जो मानिसहरु थिए, ती मानिस विदेशमा कुनै कारणले गए । विदेशमा बस्नका लागि नागरिकता लगायत स्थायी अनुमति पत्र लिएभने अहिलेको नागरिकता ऐन २०६३ को दफा १० ले तिनीहरुको नागरिकता रद्द गर्ने व्यवस्था गर्यो ।’ उनले भने, ‘२०२० सालको मुलुकी ऐन र नागरिकता ऐन, २०४७ सालको संविधान, यो २०६३ सालको नागरिकता ऐन आउनु भन्दा अगाडि नेपालमा कानुनी रुपले दोहोरो नागरिकता व्यवस्था नलेखे पनि व्यवहारिक रुपमा थियो ।’

अधिवक्ता नेउपानेले राज्यले नागरिकलाई रोजगार नदिएर विदेश जान उक्साउने गरेको आरोप लगाए । विदेश पठाएपछि उनीहरुको नेपाली पहिचान मेटाउने काम गरेको उनले बताए ।

‘देशका नागरिकलाई हामी रोजगार नदिने, माओवादीले गाउँमा बस्न नदिने १० वर्ष, हामीहरुले उद्योग, कलकारखाना बेच्ने र नेपालमा वैदेशिक रोजगार विभाग छ, स्वदेश रोजगार विभाग भने छैन । सरकार अभियानका रुपमा नेपाली तमाम विदेश जाउँ, नेपालमा नपढ, रोजगार नगर भनेर अभियानको रुपमा विदेश धकेल्छ । त्यसपछि तिमी विदेशी भयौ भन्छ,’– उनले भने ।

देशका कम्युनिष्टहरुले राष्ट्रियताको नाममा देश सिध्याउनै लागेको उनको आरोप छ । माओवादीले रूकुम, रोल्पाबाट खनेको सुरुङको मुख दिल्लीमा भेटिएको उनको टिप्पणी छ । ‘हाम्रा देशमा १२ बुँदे कम्युनिष्ट नाम माओको राख्ने, काम राहुको गर्नेले राष्ट्रवादका नाममा यो देश सिध्याउने भए । घनघोर राष्ट्रवाद । रूकुम, रोल्पाबाट खनेको सुरुङ दिल्ली रहेछ त्यसको मुख । नेपालको प्रधानमन्त्री एक जना ट्रक व्यवसायीले दिल्लीमा भएर बनाउँदो रहेछ,’– उनले भने ।

उनले नेपाली वंशज भएर विदेशी स्थायी आवासीय अनुमतिपत्र र नागरिकता लिएकाहरुलाई दोहोरो नागरिकताको सुविधान दिन आवश्यक रहेको बताए । संसार भरि छरिएर रहेको नेपाली वंशजको पैसा, वुद्धि र क्षमतालेमात्रै नेपाललाई समृद्ध बनाउन सकिने उनको दाबी छ ।

‘तमाम विदेशमा बस्ने नेपालीलाई के आह्वान गर्छु भने आउनुस् । तपाईँहरुको नागरिकता हामी दोहोरो कायम गरिदिन्छौं । दोहोरो नागरिकता कायम गरेपछि संसारभरीका पैसावाला, वुद्धिवाला क्षमतावाला मानिस हामी ल्याउँछौं । विहारीलाई राजनीतिक अधिकार दिनुभन्दा हाम्रो वंशजलाई किन राजनीतिक अधिकार नदिने ?’– उनले प्रश्न गरे ।

अन्य देशमा पनि दोहोरो नागरिकता सम्बन्धि व्यवस्था रहेको उल्लेख गर्दै उनले विदेशमा रहेका वंशज नेपालीलाई दोहोरो नागरिकता दिन आवश्यकता रहेको बताए । जन्मको आधारमा नागरितका लिएका भन्दा विदेशमा रहेका वंशजका नेपालीले यो संकटमा पर्दा सहयोग र समर्थन गर्ने उनको भनाई छ ।

गैरआवासीय नेपाली राजेन्द्र भट्टले हजारौं पुर्खा यो देशमा रहेपनि आफूलाई नेपालको कानुनले गैरनेपाली बनाएको भन्दै दुखेसो पोखे । वंशजको नागरिकता खोस्ने राज्यको कुनै अधिकार रहेको उनको भनाई छ । नेपाल बाहिर दोहोरो नागरिकता लिएर बसेको १२ लाख ६९ हजार नेपाली मुलका नागरिक रहेको उनले बताए ।

‘बाहिरको देशको नागरिकता लिएर बसेका १२ लाख ६९ हजार नेपाली हुनुहुन्छ । यही नेपालका मूलवासीहरु । न उनीहरु अंगिकृत हुन, न छिमेकी मुलुकबाट आयतित हुन् । उनीहरुका हजारौं पुर्खा यहीँ जन्मे, हुर्के । तिनको सन्तान हुन उनीहरु । आज उनीहरुलाई अब कहिले पनि यो नेपालसँग सम्बन्ध नराख्ने कानुन बनाइयो,’– उनले भने ।

नेपाली मूलका रैथानेहरुको जनसंख्या कम होस् र आयतितले देश भरेर भोलि चाहेजस्तो राजनीतिक, आर्थिक शासन गर्न सकियोस् भनेर नेताहरुले यस्तो व्यवस्था ल्याएको उनको आरोप छ । उक्त कार्यमा गैरआवसीय नेपाली संघ (एनआरएन) का नेताहरु पनि संलग्नता रहेको उनले बताए ।

उनले नेपालको नेताहरुसँग र छिमेकीको स्वार्थसँग मिलेर दुई पैसा कमाउन र दुई चारवटा दलाली गर्नका लागि एनआरएनले वंशजको नागरिकता बेचिदिएको आरोप लगाए । राज्यले आफ्ना देशका वंशज नागरिकलाई कहिले पनि देशसँग सम्बन्ध टुटाउने काम गर्न नहुने उनले बताए ।

नेपाली वंशज नागरिक संघका अन्तराष्ट्रिय संयोजक योगेन्द्र बहादुर क्षेत्रीले नै नागरिकताको निरन्तरताले नै समृद्ध नेपाल निर्माण हुने बताए । सबै वंशजका नेपालीहरुले जहाँ बसेपनि नागरिकताको निरन्तरता पाउनु पर्ने उनको माग छ । विदेशमा रहेका एनआरएन र उनीहरुका छोराछोरीको सीप, शिक्षा र धनको उचित प्रयोग गरेमात्रै चाँडै नेपाल सम्पन्न हुने उनको बुझाई छ ।

‘एनआरएनका छोराछोरी जो–जो विदेशमा बस्नुभएको छ, जो–जो विदेशमा बसेर पढ्नुभएको छ, उनको सीप, एजुकेशन र धन नलिँदासम्म नेपालको समृद्धि फुलिस्टप । हामी त्यो चाहँदैनौं । हामीलाई हाम्रो लागि सोच्नुपर्ने छैन,’– उनले भने ।

विदेशमा रहेका नेपाली वंशज नागरिकहरुले दुःख सुख गरेर आफ्नो लागि राम्रै गरिरहेको बताउँदै उनले देशमै बस्ने नपालीहरुमा रहेको गरिबी अन्त्य र समृद्ध नेपाल निर्माणका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

वंशजको नागरिक मिलेर यो देशलाई समृघद्ध बनाउनेतर्फ लाग्नुपर्ने उनले बताए । राज्यले यही माटोमा भिड्नुपर्छ र पसिना बगाउनुपर्छ भन्ने नीति नै नलिएको उनको अरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *