गम्भीर बहस : रित्तो संसद्, हाजिर गर्ने २२२, छलफलमा बस्ने सांसद ५५

Sharing is caring!

जेठ ११, २०७५ । नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश गर्ने विशिष्ट प्रक्रिया हो । तर, राष्ट्रपतिद्वारा संसद्मा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट सुरु भएको बहसमा बिहीबार सांसदको उपस्थिति कमजोर थियो । छलफलमा सांसदको सहभागिता त झन् लगभग शून्य भयो । संसद्मा हाजिर गरेर भत्ता सुनिश्चित गर्ने सांसद २२२ थिए, तर बैठकमा उपस्थित सांसद ५५ मात्र थिए । उपस्थितमध्ये पनि आफ्नो मन्तव्य दिएपछि हिँडे । उनीहरू संसद्को बहसमा होइन, क्यान्टिनको गफमा व्यस्त थिए । संसद् प्रतिपक्षको मञ्च हो, तर प्रतिपक्ष कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बोल्न नाम लेखाएर पनि बोल्न चाहेनन् । सभामुखले तीनपटक नाम लिँदा पनि उनी भेटिएनन् ।

बुधबारदेखि संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रममाथि महत्वपूर्ण छलफल सुरु भएको छ । बिहीबार पनि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो । हाजिरी पुस्तिकामा २२२ सांसदले उपस्थिति जनाए । बैठकमा पनि बाक्लै उपस्थिति देखियो । तर, छलफल चल्दै गर्दा केही घन्टामै कुर्सी रित्ता देखिन थाले । केही दैनिक भत्ता सुनिश्चित गर्ने उपस्थिति जनाएर हिँडे, केही आफू बोलेपछि टाप कसे । केही सांसद संसद् परिसरमा रहेको क्यान्टिनमा गफ चुटेर बसे ।

केही समयपछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरूको उपस्थिति बैठकमा अत्यन्त न्यून देखियो । पहिलो लहरमा सत्तापक्षका लागि छुट्याइएका १०, सरकारका मन्त्रीका लागि छुट्याइएका ६, प्रमुख प्रतिपक्षीका लागि छुट्याइएका ५ र अन्य दलका शीर्ष नेताहरूका लागि छुट्याइएका ५ गरी २६ वटै कुर्सी खाली देखिए । क्रमशः दोस्रो लहर र त्यसपछिका अधिकांश कुर्सीसमेत खाली हुँदै गए ।

प्रतिनिधिसभामा कुनै विषयमा निर्णय गर्दा एकचौथाइ सांसद अर्थात् कुल २७५ मध्ये ६९ उपस्थित हुनुपर्ने हुन्छ । तर, सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहँदा मुस्किलले ५५ सांसद मात्रै उपस्थित थिए । छलफलमा सत्तापक्षका ३९, कांग्रेसका १२ र अन्य चार सांसद सहभागी थिए ।

संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बिहीबारको प्रतिनिधिसभा बैठकमा २२२ सांसदको उपस्थिति रहेको बताए । गणपूरक संख्याबारे प्रवक्ता डा. गौतमले भने, ‘कुनै विषयमा निर्णय गर्दा एकचौथाइ गणपूरक संख्या पुग्नुपर्छ ।’

५ घन्टा ४५ मिनेट चलेको बिहीबारको बैठकमा पहिलो लहरमा सत्तापक्षका सुवास नेम्वाङ, देव गुरुङ र जनार्दन शर्मा केही समय देखिए । दोस्रो लहरमा घनश्याम भुसाल, योगेश भट्टराई, अग्नि सापकोटालगायत पनि थिए । दोस्रोका बाँकी र तेस्रो लहरका अधिकांश कुर्सी खाली थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसका लागि छुट्याइएको पहिलो लहरका ५ कुर्सी र त्यसपछिका अधिकांश कुर्सी बैठक अवधिभर खाली थिए ।यो खबर आजको नयाँ पत्रिकबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *