सवा ४ अर्ब नोक्सान ठहर: मन्त्री, सचिव र कर्मचारीलाई कारवाही सिफारिस

Sharing is caring!

पुस १९, २०७५ । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान भित्र्याउँदा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ नोक्सान भएको संसदीय समितिले ठहर गरेको छ। सार्वजनिक लेखा समितिअन्तर्गत गठित उपसमितिले बुधबार समितिलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनले वर्तमान सटही दर अनुसार उक्त रकम नोक्सानी भएको पुष्टि गरेको छ। विमान खरिद प्रक्रियामा संग्लग्न भई नोक्सान पुर्‍याउने व्यक्तिलाई कारवाही गर्न सिफारिस पनि गरिएको छ।

प्रतिवेदनअनुसार विमानको लागत अनुमान र खरिद मूल्यमा भएको अनियमिततामा दुई करोड ३६ लाख अमेरिकी डलर, कबोल गरिएको मूल्यमा वृद्धि गरेर भुक्तानी गर्दा ६८ लाख डलर नोक्सान भएको उल्लेख छ। त्यस्तै, विमानको भारवहन क्षमता घटाउँदा ८४ लाख अमेरिकी डलर र विमान निरीक्षण गर्न जाँदा भएको खर्च एक करोड रुपैयाँसहित कुल चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको छ।

निगमले यी दुई विमान किन्दा एयरबसलाई तिरिएको वास्तविक रकम थाहा नभएको प्रतिवेदनमा उल्लेख छ। त्यसको तथ्य प्राप्त हुन भए यो अनियमितता रकम अझै बढ्न सक्नेसमेत समितिले बताएको छ। उपसमितिले अनियमिततामा संलग्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्व पर्यटनमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई कारवाही गर्न सिफारिस गरेको छ। गृह सचिव प्रेमकुमार राई, पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पूर्व सचिव शंकर अधिकारी पनि कारवाही सिफारिसमा परेका छन्।

प्रतिवेदनले मुख्य दोषीका रूपमा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई तोकेको छ। विमान खरिद प्रकरणमा प्रमुख भूमिका खेलेका कंसाकारले अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिएकोले उनलाई तत्काल निलम्बन गरी हदैसम्मको कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ। निगम सञ्चालक समितिका सदस्य, वाइडबडी खरिद उपसिमित, द्विपक्षीय सम्झौता स्वीकृत गर्न गठित उपसमिति, विमान खरिदको सर्तमा वार्ता गर्ने उपसमिति, फाइनान्स तथा विद्यमान अवस्था अध्ययन उपसमिति, रिक्वेस्ट फर प्रपोजल मूल्यांकन, वार्ता उपसमिति समेतमा बसेर काम गर्ने निगम सञ्चालक समिति र कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको छ।

निगमको तत्कालीन बोर्ड सदस्यका रूपमा प्रतिनिधित्व गर्ने हालका प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगाना निगमका तत्कालीन बोर्ड सदस्य सूर्यप्रसाद आचार्य, जीवनप्रसाद सिटौला, सुरेश आचार्य, बुद्धिसागर लामिछानेसहितका सहसचिवलाई कारवाही सिफारिस गरिएको छ। बोर्डका अन्य सदस्य टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी पनि कारवाहीको दायरामा पर्ने छन्। निगमका कर्मचारीले विभिन्न उपमितिमा बसेर काम गर्दा गरेको अनियमिताको विषयमा निगमका पूर्व तथा बहालवाला कर्मचारी गरी करिब डेढ दर्जन व्यक्ति कारवाही सूचीमा परेका छन्।

निगमका पूर्व कर्मचारी रामहरि शर्मा र हालका कर्मचारी प्रभासकुमार कर्माचार्य, जनकराज कालाखेती, श्रवण रिजाल, पुष्पलाल पोते, पारस पौडेल, बृहतमान तुलाधर, गणेशबहादुर चन्द, रवीन्द्रकुमार शेरचन, कर्णबहादुर थापा, रमेशबहादुर शाह, रवीन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, उमेश पौडेल र युवराज अधिकारी निगमले वाइडबडी खरिद गर्न गठन गरेको विभिन्न उपसमितिमा छन्। तिनलाई कारवाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *