सरकारले निषेधको राजनीति गर्दैन : प्रमुख सचेतक गुरुङ

Sharing is caring!

चैत २२, २०७५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक एवम् स्थायी समिति सदस्य देव गुरुङले सरकारले निषेधको राजनीति नगर्ने बताएका छन् ।

गुरुङले वर्तमान सरकारले सुधारउन्मुख काम गरिरहेको विश्वास दिलाए । उनले भने,‘सरकारको काम सुधारउन्मुख छ । सरकारप्रति जनताको आशा र अपेक्षा धेरै हुनसक्छ, अहिलेको परिस्थिति हेर्दा सुधारउन्मुख नै रहेको देखिन्छ ।’ अहिले आमूल परिवर्तनको अपेक्षा गर्ने खालको परिस्थिति नभएको उनको भनाई छ ।

उनले भने,‘अहिलेको परिस्थितिमा जे-जति कामहरु भैरहेका छन्, सकारात्मक छन् । संविधानअनुसार नै कामहरु भैरहेका छन् ।’ त्यस्तै उनले पार्टीका तल्लो तहमा पनि छिट्टै एकता टुँगो लगाउने विश्वास दिलाए ।

फरक प्रसँगमा नेता गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहको गतिविधि नियन्त्रणको लागि सरकारले प्रतिबन्धको कुरा गरेको स्पष्ट पारे । उनले भने,‘कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्छ । संविधानले दलमाथि प्रतिबन्ध गर्ने कुरा स्विकार गरेको छैन् ।’

गुरुङले विप्लव समूहलाई वार्तामा आउन आह्वान गरे । उनले भने,‘सरकारले वार्ताको ढोका खुल्ला राखेको छ । मुलुकको स्वाधिनताको रक्षा र आत्मनिर्भर अर्थनीतिको लागि स्थिरता र स्थायित्व आवश्यक छ ।’ हिजोको र आजको अवस्थामा फरक रहेको सुनाउँदै उनले एकतावद्ध भएर अघि बढ्नुपर्ने सुझाए ।

मुलुकलाई अहिलेपनि आन्तरिक द्वन्द्वमा फसाउने तत्वहरु उद्धत रहेकोले त्यसतर्फ सचेत रहँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको धारणा छ । उनले भने,‘त्यसैले मुलुकलाई द्वन्द्वमा फसाउनेतर्फ होईन, यदि मतभेद छन् भने समझदारी कायम गरेर अघि बढ्नुपर्छ । संविधानअनुसार नै समस्याको हल गर्नुपर्छ ।’

सरकारको काम र दायित्व भनेको गैरकानूनी काम गर्न नदिनु र नियन्त्रण गर्नु भएकोले आफ्नो दायित्व पूरा गरेको गुरुङले स्पष्ट पारे । उनले भने,‘सरकारले पेलेर होईन, संविधानअनुसार नै आफ्नो कदम चाल्छ । त्यहीअनुसार जानुपर्छ ।’ मुलुकको राष्ट्रियता र स्वाधिनतामा आँच पुर्याउने काम कसैबाटपनि हुन नहुने उनको भनाई छ ।

आफ्नो एक साताको चीन भ्रमण फलदायी भएको पनि उनले जानकारी दिए । उनले भने,‘चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले बोलाएर हामी सद्भाव भ्रमणमा गएका थियौं । भ्रमण फलदायी रह्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *