संसदको बैठक भत्ता दोब्बर बनाउने मन्त्रिपरिषद् निर्णय

Sharing is caring!

असार २१, २०७५ । प्रदेश ४ का सांसदको प्रदेश सभा बैठक भत्ता दोब्बर भएको  छ। प्रदेश मन्त्रिपरिषदको बुधबारको बैठकले सांसदलाई यातायात खर्च वापत ७५० रुपैयाँ दिने निर्णय गरेको हो। यसअघि बैठक भत्ता भनेर ७५० रुपैयाँमात्रै पाउँदै आएका थिए। अब भने यातायात खर्चसमेत गरी १५ सय रुपैयाँ पाउने छन्।

सांसदको मासिक तलब भने ४५ हजार रुपैयाँ छ। प्रदेश सभाको ३० चैतको बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको तलब सुविधा र भत्ता सम्बन्धी विधेयक पारित गरेको थियो।

मन्त्रिपरिषद बैठकले प्रमुख प्रतिपक्ष दलका नेतालाई घरभाडा स्वरुप महिनाको २० हजार रुपैयाँ दिने निर्णय पनि  गरेको छ। नेपाल कम्युनिस्ट पार्टी नेतृत्वमा सरकार रहेको प्रदेश ४ मा नेपाली कांग्रेस संसदमा प्रमुख विपक्षी दल छ।

उक्त पार्टीका वरिष्ठ नेता कृष्णचन्द्र नेपाली पोखरेल प्रमुख प्रतिपक्षी दलका नेता छन्। प्रदेश सांसद गम्भीर बिरामी पर्दा आर्थिक सहयोग गर्ने कार्यविधि र मापदण्ड निर्माण गर्न मन्त्रिपरिषद बैठकले समिति गठन गरेको छ। समिति संयोजक अर्थमन्त्री किरण गुरुङ तोकिएका छन्। समितिमा गृहमन्त्री हरिबहादुर चुमान, सामाजिक विकास मन्त्री नरदेवी पुन र मन्त्रिपरिषद कार्यालयका कानुन सचिव धर्मराज कुइँकेल छन्।

मृर्गौला, मुटु, क्यान्सर सम्बन्धी रोगबिराम लागेर ठूलो खर्च लाग्ने अथवा दुर्घटनामा परी गम्भीर बिरामी परे सरकारले आर्थिक सहयोग गर्ने गरी कार्यविधि बन्न लागेको हो। मन्त्रिपरिषदले प्रदेश वन्यजन्तु उद्धार केन्द्रसम्बन्धी कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। पोखरा महानगरपालिकाको वडा नम्बर ३१ पचभैयामा वन्यजन्तु उद्धार केन्द्र नाममा चिडियाखाना बनाउने सरकारको योजना हो। यो खबर आजको अन्नपुर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *