शून्यमा झर्‍यो काठमाडौंकोे तापक्रम, मंगलबार र बुधबार वर्षासँगै हिमपात

Sharing is caring!

पुस १७, २०७५ । काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उपत्यकामा सोमबार बिहानको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । आकाश खुला भएकाले चिसो हावा बहेर न्यूनतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चिसो अझै बढ्नेछ ।

न्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । केही सातादेखि मुलुकभर चिसो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबारभन्दा १ डिग्री तल झरेको हो । शनिबारको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आइतबार १ डिग्रीमा झरेको तापक्रम यस वर्ष माइनसमा जाने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तापक्रम घटेका कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बन्दै गएको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ ।
‘मंगलबार मध्य तथा पूर्वी पहाडी भेगमा हलुका वर्षा र हिमपातको सम्भावना रहेको छ,’ शान्ति कँडेलले भनिन्, ‘यो क्रम अझ बुधबारसम्मै जारी रहने सम्भावना छ ।’ मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले मुलुकभर चिसो बढेको उनले बताइन् ।

अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्न सक्ने उनले बताइन् । शनिबार पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको थियो । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा छ । पहाडी र हिमाली क्षेत्रमा आइतबार र सोमबार आकाश खुला भएको थियो । बिहानीपख बाक्लो तुसारो पर्ने र रातभर आकाश खुला हुनेक्रम रहेकाले केही दिन अझै चिसो बढ्ने मौसमविद्को दाबी छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रमको विगत अवस्थालाई हेर्दा अहिलेसम्म माइनस ३ डिग्रीभन्दा तल झरेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार ११ जनवरी १९९८ मा हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

अघिल्लो वर्ष सन् २०१८ को जनवरीमा शून्य डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो । विगतको अवस्थालाई हेर्दा यसपटक पनि जनवरीमा नै तापक्रम शून्यमा झर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ । सोमबार सबैभन्दा कम न्यूनतम तापक्रम (माइनस ५ दशमलव १ डिग्री सेल्सियस) जुम्लामा र सबैभन्दा बढी न्यूनतम तापक्रम (११ दशमलव ४ डिग्री सेल्सियस) धरानमा मापन गरिएको छ । जोमसोम र जिरीको तापक्रम आइतबार नै माइनसमा थियो । सोमबार बिहान जोमसोममा माइनस २ दशमलव २ र जिरीमा माइनस २ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यसैगरी, सोमबार नै दीपायलको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस, वीरेन्द्रनगरको २ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार ताप्लेजुङमा ३, लुम्लेमा ३ दशमलव ५, धनगढीको ४ डिग्री सेल्सियस मापन गरिएको छ । डडेल्धुरा, नेपालगन्ज, पोखरा र जनकपुरको न्यूनतम तापक्रम ४ दशमलव ४ र सिमराको ४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यस्तै, दाङको ५, विराटनगरको ५ दशमलव ३, भैरहवाको ५ दशमलव ७, धनकुटाको ६ दशमलव ६ र ओखलढुंगाको ७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *