संगठित सुन तस्करी : ४ प्रतिवादीविरुद्ध रेडकर्नर नोटिस

Sharing is caring!

असार ९, २०७५ ।  ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन मुद्दाका ४ प्रतिवादीलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरेको हो ।

प्रहरीले दुबईमा होटल व्यवसाय गरिरहेका रामशरण खडका, गोरे भनिने चूडामणि उप्रेतीका दुबई बस्दै आएका भाइ रमेश उप्रेती, सुन तस्करीमा मुख्य लगानीकर्तामध्येका मोहनकुमार अग्रवाल र बेनु श्रेष्ठविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो ।
संगठित सुन तस्करीमाथि अनुसन्धान सुरु हुनेबित्तिकै फरार भएका अग्रवाललाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । अग्रवालको खोजीमा प्रहरीको उच्च संयन्त्र लागिरहे पनि उनी पक्राउ परेका छैनन् । समितिले २५ जेठमा डिल्लीबजारस्थित अग्रवालको घरमा छापा मारेको थियो ।
संगठित सुन तस्करीको अनुसन्धान गर्न बनेको उच्चस्तरीय विशेष समितिले अहिलेसम्म एक सयभन्दा बढी शंकास्पद व्यक्तिसँग बयान लिइसकेको छ । समितिले ३९ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत मोरङ जिल्ला अदालतमा यसअघि नै मुद्दा पेस गरिसकेको छ । जसमध्ये ३४ जनालाई अदालत लगिएको थियो भने २ जना साधारण तारेखमा छुटेका छन् । समितिका सदस्य एसएसपी वसन्त लामाका अनुसार अहिले ५ जनाको बयान जिल्ला प्रहरी कार्यालय, मोरङमा चलिरहेको छ ।यो खबर आजको कान्तिपुरमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *