सन्दीप भन्छन्: पहिलो प्राथमिकता नेपाली क्रिकेट

Sharing is caring!

जेठ २, २०७५ । विश्वकै सबैभन्दा लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका छन् नेपाली १७ वर्षीय स्पिनर सन्दीप लामिछाने । दिल्लीबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध आईपीएलमा डेब्यू गरेका सन्दीपले मंगलबार आफ्ना फ्यानहरुसँग भलाकुसारी गरेका छन् ।

दिल्ली डेयर डेभिल्सको फेसबुक पेजमार्फत भिडियो लाइभबाट उनले करिब १५ मिनेटसम्म मं‌गलबार दिउँसो संवाद गरेका छन् ।

आरसीबीविरुद्ध ४ ओभर बलिङ गर्दै २५ रन दिएर एक विकेट लिएका सन्दीप सबैभन्दा किफायती बलर बनेसँगै उनको चर्चा चलेको छ । दिल्लीले पनि आफ्ना सामाजिक सञ्जालमा उनलाई विशेष प्राथमकिता दिइरहेको छ ।

स‌ंवादका क्रममा सन्दीपले आफूले दिल्लीमा धेरै कुरा सिक्न पाएको बताएका छन् । उनले कडा मेहनत र कठोर अनुशासनमा रहेर आफूले आफूमाथिको विश्वासलाई प्रमाणित गर्न चाहेको बताएका छन् ।

सन्दीपले संवादको सुरुमा नेपाल र भारतको पिचमा धेरै फरक रहेको बताउँदै नयाँ अनुभव भइरहेको बताएका छन् । नेपालका पिचमा धेरै टर्नहरु हुने बताउँदै भारतका पिचहरु अलिक स्किर्टी हुने भएकाले आफूलाई त्यही अनुसार अभ्यस्त हुन समय पनि लागेको सन्दीपले बताए ।

सन्दीपले फेसबुक लाइभका क्रममा दिल्लीबाट खेल्दा र प्रशिक्षणका क्रममा धेरै राम्रो अनुभव बटुलिरहेको बताएका छन् ।

‘यहाँ आएर मैले धेरै कुरा सिक्न पाएको छु, राम्रा प्रशिक्षक छन् । कडा मेहनत गर्ने र अनुशासनमा रहने साथीहरुको साथ पाएको छु’, उनले भनेका छन्, ‘दिल्लीबाट धेरै सिक्न पाउँदा दिन पनि राम्रा भइरहेका छन् । तर यो सिजनमा हाम्रो टिमले भने धेरै खेल हारेको छ, राम्रो प्रदर्शन हुन सकेको छैन ।’

सन्दीपले रिकी पोन्टिङ जस्ता विश्वचर्चित क्रिकेटरलाई प्रशिक्षकका रुपमा पाएकाले आफू गौरवान्वित भएको बताए । ‘रिकी पोन्टिङसँग प्रत्येक पटक ड्रेसिङ रुम सेयर गर्न पाउँदा गर्व लाग्छ’, उनले भने, ‘यस्तो अवसरमा पाएकोमा म धेरै खुसी छु, साथै धेरै सिक्न पनि पाइरहेको छु ।’

फेसबुक लाइभका क्रममा एक समर्थकले सन्दीपलाई नेपाललाई भुल्ने त होइन भनेर प्रश्न गरेका थिए । त्यसको जवाफ उनले सटिक र मिठो शैलीमा दिए । ‘आई लभ नेपाल, आई लभ नेपाली क्रिकेट, नेपाली क्रिकेट सधैँ मेरो पहिलो प्राथमिकतामा पर्छ, अनि मात्रै अन्य लिगहरु र गेमहरु आउँछन् ।’

सन्दीपले भारत तथा आरसीबीका कप्तान विराट कोहलीविरुद्ध बलिङ गर्न पाएपछि आत्मविश्वास पनि बढेको बताएका छन् । आरसीबीविरुद्ध दिल्लीबाट पहिलो ओभरमै बलिङ गर्न पाएका सन्दीपले पार्थिव पटेललाई आउट गरेपछि विराट कोहली र एबी डी भिलियर्सविरुद्ध पनि बलिङ गरेका थिए ।

‘विराट कोहली जस्ता लिजेन्ड खेलाडीविरुद्ध बलिङ गर्न पाउँदा आत्मविश्वा बढ्दो रहेछ’, उनले अगाडि भनेका छन्, ‘विराटविरुद्ध बलिङका क्रममा कति पटक बिगारेँ भने कतिपटक सही ठाउँमा बलिङ गरेर दबाबमा पनि राखेँ । कोहली र डी भिलियर्स जस्ता लिजेन्ड खेलाडीविरुद्ध बलिङ गर्नाले आत्मविश्वास बढ्दो रहेछ ।’

दिल्लीले ११ खेलपछि मैदानमा उतारेका सन्दीपको डेब्यु पनि प्रभावशाली र गतिलो सन्देश छाड्न पर्याप्त थियो । सन्दीपको प्रदर्शनले अन्य नेपाली खेलाडी पनि उनी जत्तिकै सक्षम छन् भन्ने तथ्यलाई पनि बल पुर्‍याएको छ भने आईपीएलको ढोका खोल्न पनि मद्दत गरेको छ।

डेब्युमै विकेट लिएपछि सन्‍दीपलाई बधाईको ओइरो नै लाग्यो । सामाजिक सञ्जालहरुमा ‘नेपाली फुच्चे’ भारतमा चम्किएको भन्दै नेतादेखि प्रधानमन्त्री र अन्य सेलिब्रेटीले पनि बधाई दिए । उनले पहिलो विकेटका रुपमा पार्थिव पटेललाई आउट गरेपछि मैदानको अनुभव यसरी सुनाए, ‘मैले विकेट लिएपछि दिल्लीका सबै साथिहरु नजिक आएर बधाई दिए । उनीहरुले आईपीएलको पहिलो विकेटको फरक महत्व हुने भन्दै हौसला बढाउने गरी बधाई दिए ।’

सन्दीपले नेपाली क्रिकेटले डिभिजन पाँचदेखि एकसम्म आईपुग्न कठिन मेहनत र धेरै आरोह अवरोह पार गर्नुपरेको बताए । ‘नेपाली क्रिकेट डिभिजन वानसम्म आइपुग्नका लागि हामीले विगतमा गरेको कठोर मेहनत र समर्पणबाटै सम्भव भएको हो’, सन्दीपले समर्थकहरुसँग संवादका क्रममा भने, ‘डिभिजन पाँचबाट डिभिजन एकसम्मको यात्राका क्रममा साथ दिने र स‌ंघर्षमा सघाउने सबैलाई सलाम छ । हामीले अहिले एक दिवसीय मान्यता पाएका छौँ तर अझै धेरै गर्न भने बाँकी छ ।’यो खबर आजको अन्नपुर्ण पोस्टमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *