कांग्रेसमा शेखर कोइराला फेरि आफ्नै समूहमा

Sharing is caring!

साउन १०, २०८० । नेपाली कांग्रेसमा आफ्नो गुट छोडेर सभापति शेरबहादुर देउवातिर लागेको आशंका गरिएको शेखर कोइराला फेरि आफ्नै गुटमा देखिएका छन् । उनले सार्वजनिक रूपमा नै सभापति देउवाको आलोचना गर्न थालेपछि उनको गुट परिवर्तन भएको भन्ने आशंकासमेत मेटिएको छ ।

मंगलबार भएका विभिन्न कार्यक्रममा खुलेरै सभापति देउवाको आलोचना गरेका छन् । कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणले गर्दा अहिले अनुहार लुकाएर हिँड्ने अवस्था बनेको गर्दैै संस्थापन पक्षमाथि प्रहार गरेका छन् । बिपी स्मृति सप्ताह कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै भ्रष्टाचारले देशलाई चारैतिर गम्भीर तरिकाले गाँजिरहेको बताए ।

‘यो केन्द्रीय समितिपछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको हिसाबले बढ्नुपर्छ । नत्र कांग्रेसको औचित्य समाप्त हुन्छ । दण्डहीनताको अन्त्य गर्न सकेको छैन’, उनले भने, ‘राज्य नै दण्डहीनतालाई बढाउने प्रयास गरिरहेको छ । कानुन नै हामीहरू जुन कानुन फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरूलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने कुराले हामीहरूको छवि धुमलिएर गइरहेको पाइरहेको छु । भुटानी शरणार्थी प्रकरणमा अन्तर्राष्ट्रिय समुदायमा हामीले अनुहार कसरी देखाउने रु विदेश जाँदा नेपाली पासपोर्ट लिएर जाँदा तिमीहरू यस्तो हौ भन्यो भने मुख कसरी देखाउने रु’

कांग्रेस अब केन्द्रीय समितिको बैठकपछि शून्य सहनशीलतालाई लिएर अघि बढ्ने उनले विश्वास व्यक्त गरे । कोइरालाले गगनसँग आफ्नो सम्बन्ध यथावत रहेको दाबी गरे ।

बिपी स्मृति सप्ताह कार्यक्रममा उनले भने, ‘गगनजी किन आउनुभएन भन्ने उहाँहरूको मनमा कूतुहलता होला । रिसाउनुभएको हो कि के हो रु आजको कार्यक्रमको मिति गगनजी र म बसेरै छलफल गरेको हो आउने भनेर ।’सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकको अन्तिम ड्राफ्टमाथि छलफल गर्न पदाधिकारी बैठक बोलाएपछि महामन्त्री थापा कार्यक्रममा नआएको हुनेसक्ने उनले बताए ।

नेता कोइरालाले भने, ‘सभापतिजीले आजै भोलिको बैठकको अन्तिम ड्राफ्टका लागि पदाधिकारीको बैठक बोलाउनुभयो । त्यसमा छलफल गर्नुपर्ने होला । त्यसैले कार्यक्रममा आउन नसकेको मैले महसुस गरेको छु ।’महामन्त्री थापाको फोन स्विचअफ भएकाले कुराकानी हुन नसके पनि कार्यक्रममा नआएको कुरालाई अन्यथा नलिन कोइरालाको आग्रह छ । ‘फोन पनि लागिरहेको छैन । उहाँको फोन पनि स्विचअफ छ । त्यो अप्ठ्यारो परेको छ । त्यसमा अन्यथा लिनुहुँदैन ।’

बिपी स्मृति सप्ताह कार्यक्रमको ब्यानरमा महामन्त्री थापालाई पनि विशिष्ट अतिथि राखिएको थियो । उनी कार्यक्रममा सहभागी नभएपछि केही नेताले महामन्त्री थापाको खोजी गरेका थिए ।

उनलाई साथ दिँदै अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारी पनि खुलेर नै संस्थापन पक्षको विरोधमा उत्रिएका छन् ।भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरू सामूहिक रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

‘म आग्रह गर्न चाहन्छु, आदरणीय पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ । ८० वर्ष पुग्न थाल्नुभएको छ । जोश जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ अब उहाँहरूले नेतृत्व लिनुप¥यो,’ भण्डारीले भने, ‘भलै मैले चुनाव हारिसकेँ । हामी तपाईंहरूको पछाडी छौँ । तपाईंहरूको सहयोगी छौँ । तर तपाईंहरू अबदेखि सँगै हिँड्नुस् । मिटिङ राख्नुस् । एजेन्डा तयार गर्नुस् । तब मात्रै कांग्रेस बन्छ ।’

उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्ने बताए । उनले उपसभापति र महामन्त्रीहरूका बीचमा बैठक राख्ने र एजेन्डा तय गरेर सँगै हिँड्न आग्रह गरे । उनले केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन इतर समूहका नेताहरूलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरूलाई सदस्य बनाउन नसक्नेले अरूको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

‘तपाईंहरू उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो । अहिलेसम्म तपाईंहरू सँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन रु हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस् । चाहे रामचन्द्रजी होस् । चाहे कृष्ण सिटौला होस् । चाहे शेखर कोइराला होस्,’ भण्डारीले भने, ‘हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो । आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्त रूपले झगडा नगर्दा यो भनाइ खाइरहनुपरेको छ ।’

भण्डारीले एउटा टिम बनाएर अघि बढ्ने हो भने स्वागतका लागि समययले प्रतिक्षा गरिरहेको पनि बताए ।‘त्यसकारण म सुझाव दिन चाहन्छु तपाईंहरूले टिम बनाउनुस् । त्यो टिम बनाउनुभयो भने तपाईंहरूलाई समयले स्वागतका लागि प्रतिक्षा गरिरहेको छ । टिम बनाउनुस् । विचारका कुरा अगाडि ल्याउनुस्,’ उनले भने, ‘कसैले केही गरेर हुन्न । समयले तपाईंहरू युवाहरूको स्वागत गर्नका लागि पर्खिरहेको छ । हामीले आन्दोलन गर्न जान्यौँ । सत्ता चलाउन जानेनौँ ।’

बिपी कोइराला पनि एक्लै कहीँ पुग्न नसकेको भन्दै आज केही प्रश्न उठाउन नसक्नेले भोलि अरको प्रतिनिधित्व गर्न नसक्ने उनले बताए । कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले केन्द्रीय कार्यसमिति बैठकमा गम्भीरतापूर्वक छलफल नभएको टिप्पणी गरेका छन् । बिपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले बैठक भारदारी सभाजस्तो भएको बताए ।

उनले भने, ‘महाराजको इशारा जता छ, त्यतैतिर आवाजहरू आउँछन् । त्यतैतिर अभिव्यक्ति आउँछन् । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति भारदारी सभा होइन । पार्टी प्रमुखको इशारामा, जता पार्टी सभापतिले इसारा गर्नुहुन्छ, त्यतै बोल्ने मैले देखेँ । दुःख र कर्म फरक हो । दुःख र कर्मको भेद छुट्टयाउन जान्नुपर्छ ।’

उनले केन्द्रीय समितिका नेताहरूले दुःख र कर्मको भेद नै छुट्याउन नसकेको उनको भनाइ छ । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुना रहेको पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नै कर्म भोगिरहेको टिप्पणी गरे ।उनले खाँणलक्षित गर्दै भने, ‘कर्मका कारण राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिँदैन । त्यो कर्म हो । उहाँकै कर्मले हो । जति पनि व्यक्तिहरू आज भ्रष्टाचारको प्रकरणले मुछिएका छन् । भने अनुसन्धानबाट निष्पक्ष छानबिन भएर कारबाही हुने हो कि नहुने हो, एउटा टुंगो लागोस् । यो खबर सौर्य दैनिकीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *