मुगुका स्थानीयलाई सहज : अब सदरमुकाम गमगढी बजार पुग्न २३० सिढी चढे पुग्ने

Sharing is caring!

साउन १८, २०८० । संघीय सरकार मातहतको सघन शहरी विकास कार्यालय जुम्लाले मुगु जिल्ला सदरमुकाम गमगढी बजार जाँदा प्रयोग गर्नका लागि रेलिङ्ग सहित २३० सिढीहरु निमार्ण भएका छन ।

छायाँनाथ रारा नगरपालिका वडा नं १ मेला रुखदेखि बजारसम्म रहेको पुरानो ठाडो उकालो गोरेटो बाटोलाई सुधार गरी मानिसहरुलाई बजार पुग्न सजिलो होस भनेर सघन शहरी विकास कार्यालयले सिढीहरु बनाएको थियो ।

यी सिढी निमार्ण भएपछि गमगढी बजारका दक्षिण तिर रहेका श्रीनगर, भामवाडा, चैन, बालै, घुईर, माथि घुईर, पिना, कोटिल्ला, मन्दु, जुक्यान, घट्लेख, तल्लेख गाँउका स्थानीयहरुलाई गमगढी—बालै—पिना सडकको मुलबाटोबाट बजार जान सजिलो भएको छ । पहिला घुमाउरो बाटो भएर बजार जाँदा मुल सडकबाट १५ देखि २० मिनेटसम्म लाग्ने गथ्र्यो अब सिढीबाट जाँदा बढीमा ५ मिनेट लाग्ने गरेको स्थानीय लोकराज परिवारले बताए ।

पुरानो गोरेटो त्यो पनि भीरमा हुँदा कयौ पटक मानिसहरु लडेको र मुख्य गरि महिला,बालबालिका र जेष्ठ नागरिकहरु छोटो बाटो भएर बजार जाँदा र घर फर्कदा सोहि बाटो प्रयोग गर्ने भएकाले उनीहरु जोखिम मोलेर हिडने गर्दथे । तर अब सिढी र भीर तिर रेलिङ्ग बनाएकाले धेरै सहज भएको श्रीनगर गाँउका स्थानीय तथा निमार्ण उपभोक्ता समितिका अध्यक्ष जर्मकला नेपालीले बताए । उनका अनुसार सघन शहरी विकास कार्यालय जुम्लाको ४७ लाख आर्थिक लगानीमा रेलिङ्ग सहितको सिढी बाटो निर्माण भएको छ ।

स्थानीयहरुलाई बजारमा जान मात्र नभइ खानेपानीको अभाव भैरहने गमगढी बजारका बासिन्दाहरुलाई खानेपानी ल्याउन,नुहाउन र लुगाधुन नजिकै रहेको हुलुम खोला र चैन खोलालगायत गाँउ बस्तीमा जान पनि सहज भएको स्थानीय दानसिंह परिवारले बताएका छन ।

जिल्ला सदरमुकाम अग्लो डाँडोमा रहेको र वरिपरि बस्ती भरहेकाले बजारमा जान आउन यस्ता खालका संरचना बनाउदा छिटो छरितो र समय मै मानिसहरुका बजारजन्य काम सम्पन्न हुने गर्दछन ।

छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्या मल्लले ठिनी तिरबाट,चैन तिरबाट र शसस्त्र क्याम्प तिरबाट पनि बजार प्रवेशका लागि यस्ता खालका रेलिङ्ग सहितका सिढी बनाउन आवश्यक रहेकोले सघन शहरी विकास कार्यालयसंग माग गरिने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *