बजारमा १ करोड २ लाख सिलिन्डर

Sharing is caring!

वैशाख ३१, २०७५ । पछिल्लो तीन वर्षमा बजारमा खाना पकाउने एलपी ग्यास सिलिन्डरको संख्यामा ४० लाखले वृद्धि भएको छ । नेपाल आयल निगमले २०७१ फागुन मसान्तसम्म ६२ लाख ६० हजार ९ सय ५३ संख्यामा ग्यास सिलिन्डर प्रमाणीकरण गरेकोमा अहिले १ करोड २ लाख २२ हजार ७ सय ४३ पुगेको हो । पौने तीन करोड जनसंख्या रहेको मुलुकमा १ करोडभन्दा बढी ग्यास सिलिन्डर रहेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवको संयोजकत्वमा गठित पाँच सदस्यीय उपसमितिले गरेको अध्ययनले ५६ वटा ग्यास बोटलिङ प्लान्टमा १ करोड २ लाख २२ हजार ७ सय ४३ संख्यामा सिलिन्डर रहेको फेला पारेको हो । उपसमितिले ५६ वटा उद्योगसँग बजारमा कति संख्यामा सिलिन्डर छन् भनेर अध्ययन गरेको थियो । उद्योगीले नयाँ सिलिन्डर बजारमा ल्याउदा निगमसँग अनिवार्यरुपमा स्वीकृत लिनुपर्छ । नाकाबन्दीका बेला व्यवसायीले पुराना सिलिन्डर नसाटेर नाफा कमाउनका लागि नयाँ सिलिन्डर बजारमा पठाएकाले पनि धेरै संख्यामा सिलिन्डर रहेको निगमको भनाइ छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार ५४ लाख २३ हजार २ सय ९७ हजार घरधुरी रहेकोमा २१ प्रतिशतले ऊर्जाको स्रोतका रूपमा ग्यासको प्रयोग गर्छन् । उद्योगीले ग्यास कोटा बढाउन सिलिन्डर संख्या धेरै देखाउने गर्दा बजारमा आवश्यकताभन्दा धेरै सिलिन्डर रहेका हुन् । ग्यास संख्या धेरै हुनेले धेरै ग्यास र कम हुनेले कम परिणाममा ग्यास पाउँछन् ।
ग्यासको खपत वार्षिक रुपमा १० देखि १५ प्रतिशतले बढ्दै गए पनि सिलिन्डरको संख्या अध्यधिक धेरै भएको अध्ययनले देखाएको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई बजारमा आवश्यकताभन्दा धेरै सिलिन्डर रहेको बताउँछन् । ग्यासको खपत बर्सेनि बढ्दै गएपनि बजारमा सिलिन्डर संख्या धेरै देखिएको उल्लेख गर्दै कार्यकारी निर्देशक भट्टराईले भने, “अब नयाँ सिलिन्डरको स्वीकृति दिन प्राविधिक रुपमा अध्ययन गर्नैपर्ने देखिन्छ ।”
अध्ययनअनुसार सबैभन्दा धेरै नेपाल ग्यास उद्योगका ५ लाख ५१ हजार ७ सय ३६ सिलिन्डर छन् भने बाबा ग्यासका ४ लाख २१ हजार ५९, साइबाबाका ३ लाख २६ हजार १ सय ७, मेट्रो काठमाडौंका २ लाख ३२ हजार ६ सय ९७, मनकामना ग्यासका २ लाख ६५ हजार ५ सय २८, गौरीशंकरका २ लाख २३ हजार ४ सय ८४ सिलिन्डर छन् । यस्तै, शक्ति ग्यासका २ लाख ७६ हजार ७ सय ४२, गृहलक्ष्मीका २ लाख ५६ हजार २ सय १४, एचपीका २ लाख ५९ हजार ७ सय ४४, एभरेष्टका २ लाख ७ सय ८१ र नोबेलका २ लाख १ हजार २ सय ८३ संख्यामा सिलिन्डर छन् ।
श्रीकृष्णका १ लाख ७२ हजार २ सय ७७, रोइलमल्टी लुकका १ लाख ८५ हजार ५ सय ९०, बुटवल ग्यासको १ लाख ४१ हजार ९७ संख्यामा सिलिन्डर छन् । यस्तै, नेपाल ग्यासका १० हजार कम्पोजिजिट सिलिन्डर बजारमा पठाइएको छ । बजारमा ग्यास सिलिन्डर पठाउनका लागि नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर परीक्षण गराउनुपर्छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ग्यास उद्योगलाई गुणस्तर चिह्न अनिवार्य गरिएको बताए । १५ वटा ग्यास उद्योगले गुणस्तर चिह्न लगिसकेको र सबै उद्योग प्रक्रियामा आएको उनले जानकारी दिए ।
गुणस्तर विभागले ग्यासको हाइड्रोलिक र हाइड्रो स्टाटिक परीक्षण गरे नगरेको परीक्षण गर्छ । त्यसपछि बिक्री वितरणका लागि अनुमति दिन्छ । अहिले अधिकांश कम्पनीले परीक्षण नगरी बजारमा पठाउने गरेका छन् । सिलिन्डरको आयु करिब ४० वर्ष हुन्छ । सिलिन्डर बनेको १० वर्षमा हाइड्रो स्टाटिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक ५-५ वर्षमा गरिरहनुपर्छ । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन बजारमा जोखिमयुक्त भएकाले जुनसुकै बेला पनि दुर्घटना हुने खालका सिलिन्डर रहेको बताउँछन् । बजारमा कुचिएका, पुराना सिलिन्डर रहेकाले जुनुकै बेला पनि विष्फोटन हुँदा उपभोक्ताको जनधन नै जोखिम हुन उनको भनाइ छ ।यो खबर आजको कारोबारमा लक्ष्मी सापकोटाले लेखेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *