झोलाको भारीले थिचिँदै निजी स्कुलका विद्यार्थी

Sharing is caring!

वैशाख ३१, २०७५ । उनीहरू सानो कक्षामा पढ्छन्, तर झोलाको ठूलो भारीले थिचिएका हुन्छन् । पीडा निजी स्कुलमा पढ्ने बालबालिकाको हो । स्कुलले धेरै पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री, कापी, खाजा अनिवार्य गरेका कारण साना नानीहरूको झोला ठूलै भारी बन्ने गरेको छ ।

सरकारले बालमैत्री विद्यालय र कक्षाकोठाको नीति अवलम्बन गरेको छ । तर, निजी विद्यालयले पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीलाई थेग्नै नसक्ने झोलाको भारी बोकाउने गरेका छन् । कापी–किताबको भारीले उनीहरूले शारीरिक र मानसिक समस्या भोगिरहेका छ ।

कतिपय विद्यार्थीले किताब, कापीको भारी बोक्न नसक्दा बस वा विद्यालयसम्म अभिभावक नै पुग्नुपरेको पनि छ । विद्यार्थीले झोला बोक्न नसकेर लगेज गुडाइरहेका दृष्य पनि देखिने गरेका छन् । तर, खाल्डाखुल्डी भएको धुलाम्मे सडकमा लगेज तान्न पनि सजिलो भने छैन ।

विद्यार्थीलाई शारीरिक र मानसिक समस्या
बालबालिकालाई धेरै तौलको झोला बोकाउँदा शारीरिक र मानसिक रूपमा समस्या भएको अभिभावकको गुनासो छ । निर्देशिका निर्माण समितिका सदस्यसमेत रहेका अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले झोलाको तौलको विषय गम्भीर भए पनि त्यसको कार्यान्वयनमा अनुगमन नभएको गुनासो गरे ।

प्राथमिक तहको विद्यार्थीका लागि सबै सामग्रीसहित ४ किलो राख्दा पनि बढी भएको आवाज त्यतिवेलै आफूहरूले उठाएको उनले बताए । केही महिनाअघि बाटोमा हिँड्दै गरेका प्राथमिक तहका बालबालिकाको झोला तौलँदा झन्डै ६ केजी पाएको उनले बताए ।

ठूलो झोलाका कारण बालबालिकामा ढाड दुख्ने समस्या देखिएको गुनासा अभिभावकबाट आउने गरेको भण्डारी बताउँछन् । उनले भने, ‘धेरै भारी बोकेर सिकाइ राम्रो भएको छैन, बालबालिकामा शारीरिक र मानसिक समस्या भएको छ ।’ उनले बालमैत्री विद्यालय बनाउन प्राथमिक तहसम्मका बालबालिकालाई झोला बोक्नु नपर्ने वातावरण सिर्जना गर्नुपर्ने सुझाब दिए ।

थोरै काम गर्ने विद्यार्थीको उपलब्धि राम्रो
शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श केन्द्र (इआरओ)को अध्ययनअनुसार कामै नगर्ने र धेरै काम गर्ने विद्यार्थीको तुलनामा केही समय काम गर्ने विद्यार्थीको उपलब्धि राम्रो देखिएको छ । इआरओ प्रमुख डा. लेखनाथ पौडेलले भने, ‘विद्यार्थीलाई धेरै भारी बोकाएर सिकाइ बढ्दैन । अरू विकासलाई समेत असर गर्छ ।’ निजी विद्यालयले यी कुरालाई वास्ता नगरेको उनको गुनासो छ ।

इआरओले सन् २०१७ मा कक्षा ८ को नेपाली, गणित र विज्ञान विषयमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) गरेको थियो । प्रतिवेदनले एकदेखि दुई घन्टासम्म घरायसी काम गर्ने विद्यार्थीको उपलब्धि राम्रो देखाएको छ । घरमा काम नै नगर्नेले नेपाली विषयमा ४९६, एक घन्टाभन्दा कम काम गर्नेले ५०३, एक घन्टादेखि दुई घन्टासम्म काम गर्नेले ५०७, दुईदेखि चार घन्टासम्म काम गर्नेले ४९४ र चार घन्टा तथा त्यसभन्दा बढी समय काम गर्नेले ४६९ अंक प्राप्त गरेका छन् । यो अध्ययनले ठूलो भारी बोक्नेभन्दा पनि सामान्य काम गर्ने विद्यार्थीको नतिजा राम्रो देखिएको छ ।

अनुगमनमा चासो कम
शिक्षा विभागले संस्थागत विद्यालय मापडण्ड निर्देशिकामा उल्लेख भएका केही विषयमा अनुगमन गरे पनि झोलाको तौलमा चासो दिएको छैन । मापदण्डभन्दा धेरै तौलको झोला बोकाउने कुनै पनि विद्यालयलाई अहिलेसम्म कारबाही भएको छैन । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले मापदण्डअनुसार शुल्क र व्यवस्थापनमा अनुगमन भए पनि झोलाको तौल प्राथमिकतामा नपरेको स्वीकार गरे । उनले भने, ‘ठूलो झोला बोकाउनु संवेदनशील कुरा हो, त्यसमा कम ध्यान पुगेछ ।’ विद्यार्थीको झोलाको तौललगायत विषयको अनुगमनलाई अब स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *