सुन नै आएको छैन, कसरी हुन्छ तस्करी ? -प्रतिवादी तर्फका वकिलहरु

Sharing is caring!

वैशाख ३१, २०७५ । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याकाण्डका प्रतिवादी तर्फका वकिलहरुले उक्त मुद्दा बहस गरेका छन् । जिल्ला अदालत मोरङको इजलासमा बहस प्रस्तुत गर्दै तस्करी भएको भनिएको सुन नै नभएकाले तस्करीको आरोप झुठो रहेको दावी गरेका छन् ।

काठमाडौंबाट गएका वरिष्ठ अधिवक्ताहरुले आफ्ना पक्षका अभियुक्तलाई साधारण तारेखमा छाड्न माग समेत गरेका छन् ।

आज ४ जना कानून व्यवसायीले बहस गरेका थिए । अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ यदुनाथ खनाल र राजु बस्नेतले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मा समक्ष बहस प्रस्तुत गरेका थिए ।

तस्करी गरिएको भनिएको सुन बरामद नभएकाले भन्सार चोरी पैठारी मुद्दा स्थापित हुन नसक्ने तर्क उनीहरुले गरेका थिए । अभियुक्तहरुको घर–कोठामा बरामद गरिएका रजिष्टर लगायत कागजातहरु पूर्ण प्रमाण नहुने उनीहरुको दावी थियो ।

‘संगठित अपराध’ काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भएको मानिएको उल्लेख गर्दै उनीहरुले मुद्दा मोरङमा चलाइनुको अर्थ नरहेको तर्क समेत गरे । कुनै पनि प्रमाणले आरोप पुष्टि नगर्ने भएकाले सबै अभियुक्तलाई तारेखमा छाड्न उनीहरुले माग गरे ।

वरिष्ठ अधिवक्ता बस्नेतले अभियुक्त बनाइएका विमानस्थलका कर्मचारीहरु बालकृष्ण श्रेष्ठ, एलवी भनिने लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलङ्गे, दोराम खत्री, गोपालकुमार श्रेष्ठ, तक्ले भनिने पुण्यप्रसाद लामा र हेमन्त गौतमको प्रतिरक्षा गरेका थिए । अर्का वरिष्ठ अधिवक्ता खनालले एसपी विकासराज खनालका पक्षमा मात्रै बहस गरेका थिए ।

पूर्वमहान्यायाधिवक्ता समेत रहेका श्रेष्ठले सुन तस्करीका लगानीकर्ता भनिएका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, पूर्वडीआईजी गोविन्द निरौला र एसपी खनालका पक्षमा बहस गरेका थिए । थापाले गुरुङ र एसपी खनालको प्रतिरक्षा गदै बहस गरेका थिए ।

जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार प्रतिवादीको तर्फबाट बहसमा संलग्न हुन काठमाडौ र पूर्वका गरी ८० जना वकिलले वकालतनामा दर्ता गराएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करीमा संलग्नताको आरोपमा नेपाल प्रहरीका ९ अधिकारी र तस्करीको आरोप लागेका ६३ जनाविरुद्ध जिल्ला अदालतमा गत बुधबार अभियोग दर्ता गरेको थियो । यो खबर आजको नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *