पाम आयल निर्यातमा फेरी प्रतिवन्ध

Sharing is caring!

जेठ १, २०७७ । भारतले नेपालबाट निर्यात हुने पाम तेलमा पुनः प्रतिबन्ध लगाएको छ । साफ्टा सुविधाअन्तर्गत नेपाल र बंगलादेशबाट आयात हुने ठूलो परिमाणको प्रशोधित पाम तेलमा रोक लगाएको जनाइएको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएएफटी) ले सोमबार सूचना प्रकाशित गर्दै नेपाल र बंगलादेशबाट पैठारी गरिने पाम तेलमा रोक लगाइएको जनाएको हो ।

विभिन्न मुलुकबाट कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधनपछि पाम तेल भारत पठाइन्छ । गत माघ २४ पछि भारतमा पाम तेल पैठारीका लागि जारी गरिएका ३९ वटा लाइसेन्स र लाइसेन्सका लागि परेका २३ वटा निवेदन खारेज गरिएको महानिर्देशनालयले जनाएको छ ।

नेपालबाट भारतीय आर्थिक वर्ष सन् २०१८/१९ मा १ लाख ८९ हजार ७८ टन पाम तेल निर्यात भएको थियो । यस्तै आर्थिक वर्ष २०१९÷२० मा पैठारी हिस्सा अघिल्लो वर्षभन्दा ३ सय १४ प्रतिशतले बढेको बताइएको छ ।

यसअघि भारतले पुस २२ गते नेपालमा हुने प्रशोधित माप तेलको निर्यात रोक्ने निर्णय गरेको थियो । तर नेपालको आग्रहपछि एक महिनामै पुनः पैठारी खुल्ला गरेको थियो ।

भारतीय बजारमा पाम आयल प्रशस्त मात्रामा रहेकाले आयात रोक्नपरेको समाचारमा जनाइएको छ । भारतको प्रतिबन्धका कारण अर्बौँ रूपैयाँ बराबरको लगानी जोखिममा परेको व्यवासायीको भनाई छ । भारतले पछिल्लोपटक निकासी खुला गरेपछि उद्योगहरूले कच्चा पदार्थको आयात बढाएको तर एक्कासी पुनः प्रतिबन्ध लगाएको व्यवसायीले बताएका छन् ।

उद्योगमा पनि कच्चा पदार्थ भरिएको र आयातको चरणमा पनि कच्चा पदार्थ रहेको उनको भनाइ छ । नेपालमा इन्डोनेसिया र मलेसियाबाट पामको कच्चा तेल भित्रिन्छ । चालू आर्थिक वर्षको फागुनसम्म कुल १५ अर्ब ३५ करोड रुपैयाँको पाम तेल नेपालबाट भारततर्फ निर्यात भएको छ ।  यो खबर आजको कारोबार दैनिकमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *