जेठ १५ मा पूर्ण बजेट नै आउँछ : अर्थमन्त्री खतिवडा

Sharing is caring!

जेठ १, २०७७ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ मा लागि जेठ १५ मा पूर्ण बजेट नै आउने बताएका छन् । आर्थिक वर्षको शुुरुआतमै पूरक वा अर्धबजेट ल्याउने सम्भावना नरहेको उनको भनाइ छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका लागि प्रस्तुत सिद्धान्त र प्राथमिकताबारे भएको छलफलमा सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले सरकारले विवेक प्रयोग गरेरै बजेट ल्याउने भन्दै पूरक बजेट नै ल्याइने स्पष्ट पारेका हुन् । ‘भोलि कुनै समस्या भए पूरक बजेट ल्याउन सकिन्छ, अहिले नै आधा वा पूरक बजेट ल्याउन सकिँदैन,’ उनले भने ।

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले जेठ १५ मा सानो आकारको बजेट ल्याएर साउनमा पूरक बजेट ल्याउन माग गरेको थियो । मन्त्री खतिवडाले छलफलमा उठेको प्रश्नको जवाफ दिँदै विदेशमा रहेका नेपाली नेपालमा आउन खोजेको अवस्थामा उनीहरूलाई नेपालमा ल्याउन धेरै छलफल आवश्यक रहेको बताए ।

लगानी नबढाई रोजगारी सृजना हुन नसक्ने भन्दै उनले अब आर्थिक क्रियाकलाप अघि बढाउनैपर्ने अवस्था रहेको औंल्याए । चालू आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने भनिए पनि कोरोनाको कारण यसलाई असर गरेको उनले बताए । यद्यपि व्यापारघाटा भने घटेको उनको भनाइ छ । अहिले १८ प्रतिशतभन्दा कम विद्युत् आयात हुने गरेको उनले जानकारी दिए । राष्ट्रिय गौरवका आयोजना सन्तोषजनक नभएको बताउँदै उनले भने, ‘डीपीआर नभएका आयोजना राष्ट्रिय गौरवका आयोजनामा राख्दा समस्या भयो । कसको पालामा राखेको हो, आ–आफ्नो सरकारले जिम्मा लिन आवश्यक छ ।’

खर्च कटौतीको विषय सांसदहरूले उठाएको भन्दै त्यो विषय बजेटले समेट्ने मन्त्री खतिवडाको भनाइ छ । सीमा सुरक्षामा रहेको सुरक्षाकर्मीका लागि बजेटले व्यवस्था गर्ने मन्त्री डा. खतिवडाको भनाइ छ । कोरोनाको कहरबाट थलिएको मुलुकको अर्थतन्त्रलार्ई राहत दिनेगरी आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम जरुरी रहेको भन्दै सांसदहरूले बुधवार संसद्मा सरकारको ध्यानाकर्षण गराएका थिए ।  सांसद विमलप्रसाद श्रीवास्तवले कृषि उत्पादनलाई बढोत्तरी हुनेगरी आगामी आवको बजेट नीति तथा कार्यक्रम समेटिनुपर्ने बताए । तरकारी तथा फलफूल लगायत वस्तुमा परनिर्भरता निरुत्साहित गर्न पनि कृषि उत्पादनलाई प्रोत्साहन गर्नेजस्ता विषय बजेटको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

सांसद पुष्पा भुसाल कोभिड–१९ को महामारीबाट असुरक्षित बनेको नागरिकको स्वास्थ्य र शिथिल बनेको मुलुकको अर्थतन्त्र उकास्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरिन् । ‘संकटमा परेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनेगरी नीतिगत र व्यावहारिक बजेट आउनुपर्छ,’ उनले भनिन्, ‘प्रशासनिक क्षेत्रमा रहेको फजुल खर्च कटौती गरी प्राथमिकतायुक्त क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयवस्तु बजेटमा समेट्नुपर्छ ।’

सांसद लक्ष्मण लाल कर्णले भारतलगायत विदेशी मुलुकमा अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्ने बताए ।  कोभिड–१९ का संक्रमित बढिरहेका पर्साको वीरगञ्जलगायत क्षेत्रमा आवश्यक स्वास्थ्य पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गर्न उनले सरकारलाई आग्रह गरे । यो खबर आजको आर्थिक अभियानमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *