विप्लव समूहमाथि संगठित अपराधअन्तर्गत प्रतिबन्ध: सरकार

Sharing is caring!

चैत १,२०७५ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ। विप्लव समूहमाथि लगाएको प्रतिबन्धबारे सत्तारूढ दलभित्रै विरोध भइरहेका बेला सरकारले प्रचलित कानुनअनुसार नै विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएको स्पष्ट पारेको हो। विप्लव समूहका गतिविधि आपराधिक भएको दाबी गर्दै सरकारले गत मंगलबार उसका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

‘बिनाकारण प्रतिबन्ध लगाइएको होइन, उहाँको पार्टी निर्वाचन आयोगमा दर्ता नभएकै हुनाले समूह भनिएको हो। संगठित प्रकारका आपराधिक गतिविधि भएकै कारण हामीले उक्त समूहलाई प्रतिबन्ध लगाएका हौं’, सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री गोकुल बाँस्कोटाले भने, ‘संगठित अपराध निवारण ऐन २०७०, फौजदारीलगायत अन्य कानुन पनि पर्छन्।’

संगठित अपराध निवारण ऐन २०७० को दफा ७ को उपदफा २ मा भनिएको छ, ‘कुनै प्रकारको हातहतियार, बम, विस्फोटक पदार्थ वा अन्य कुनै उपकरण वा वस्तु प्रयोग गरी नेपालको सार्वभौमसत्ता, प्रादेशिक अखण्डता वा नेपाल वा यसको कुनै भागको सुरक्षा वा शान्ति र व्यवस्थामा खलल पार्ने वा विदेशस्थित नेपाली कूटनीतिक नियोग वा त्यसको सम्पत्ति वा नेपालस्थित विदेशी नियोग वा अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थाको आवासीय कार्यालय वा त्यसको सम्पत्ति वा कुनै सार्वजनिक वा निजी पूर्वाधार, संरचना वा विकास परियोजनाको संरचना वा त्यसको हाता वा शिक्षण संस्था, स्वास्थ्य संस्था वा यातायात संस्थाजस्ता सर्वसाधारणलाई सार्वजनिक सेवा प्रदान गर्ने सेवा प्रदायकको भवन, साधन, उपकरण, यन्त्र ध्वस्त गरी क्षति पुर्‍याउने वा तोडफोड गर्ने वा सोको योजना बनाउने वा त्यस्तो स्थानमा मानिसको जिउज्यान जाने, अंगभंग हुने वा चोटपटक पुर्‍याई घाइते तुल्याउने काम वा आगो लगाउने वा दैनिक उपभोग्य वस्तुमा वा सार्वजनिक स्थानमा विषालु पदार्थ प्रयोग गरी मानिसको जिउज्यान जाने वा अंगभंग हुने वा अन्य क्षति पुर्‍याउने कामलाई विध्वंसात्मक कार्य मानिनेछ।’

विप्लव समूहलाई वार्ताका लागि सरकारले अधिकतम प्रयास गरे पनि उक्त समूहले अपाराधिक गतिविधि जारी राखेकाले प्रतिबन्ध लगाउन बाध्य भएको मन्त्री बाँस्कोटाले बताए। ‘सरकारले वार्ता समिति नै बनाएर पहल नगरेको होइन, तर विप्लव समूहका गतिविधि रोकिएनन्’, मन्त्री बाँस्कोटाले भने, ‘मान्छेको जिउज्यान जाने गरी विस्फोटका घटना भएका छन्, दूरसञ्चार र हाइड्रोका महत्त्वपूर्ण संरचनामाथि आक्रमण भएका छन्। सरकारले हचुवाका भरमा प्रतिबन्ध लगाएको होइन।’ उनले विप्लव नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा आउन आग्रह गरे। उनले भने, ‘उहाँहरू वार्तामा आउनुहुन्छ भने सरकार रेड कार्पेट बिछ्याएर स्वागत गर्छ, दस औंला जोडेर म बिन्ती गर्छु। तर उहाँहरु वार्तामा आउनुभएन भने राज्यले आफ्नो कर्तव्य पूरा गर्छ, अवस्था दुःखद पनि आउन सक्छ।’यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *