‘अमेरिका अब आफ्नै आँखाले नेपाल हेर्छ’

Sharing is caring!

पुस २, २०७५ । अमेरिकाले नेपाललाई दिल्लीको आँखाबाट हेर्छ भनिन्थ्यो। तर नेपाली कूटनीतिज्ञहरूले पछिल्लो समय उसको दृष्टिकोण फेरिएको निष्कर्ष निकालेका छन्। अमेरिका जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर उनीहरूले भने- अमेरिकाले अब भारतका आँखाले हेर्दैन।

परराष्ट्रमन्त्री ज्ञवालीसहितको टोली अमेरिकासँग दुई पक्षीय सम्बन्ध समीक्षा गर्न आइतबार राति त्यसतर्फ प्रस्थान गरेको छ। आन्तरिक ‘ब्रिफिङ’मा भारतका आँखाबाट हेर्ने अमेरिकी दृष्टि फेरिएको परराष्ट्रमन्त्रीलाई जानकारी गराएको एक कूटनीतिक अधिकारीले बताए।

यसअघिकी अमेरिकी राजदूत अलैना बी. टेप्लिट्जले पहिलो औपचारिक अन्तरक्रियामा भनेकी थिइन्, ‘दिल्लीबाट नेपाललाई हेर्ने भए नेपालमा किन यत्रो दूतावास राखिन्थ्यो ? ’ तीन वर्षअघिको टेप्लिट्जको धारणादेखि नै नेपालप्रतिको अमेरिकी बुझाइ फरक भएको अनुमान गरिएको थियो। परराष्ट्रमन्त्री ज्ञवालीले पनि हरेक मुलुकसँग नेपालको ‘फरक-फरक’ सम्बन्ध भएकाले अन्य मुलुकमार्फत हेर्नुभन्दा सीधा सम्पर्कमा नै नेपालले विश्वास गरेको बताए।

‘नेपाल र अमेरिकाबीच रहेको सम्बन्ध थप प्रगाढ बनाउने र सहयोग आदानप्रदान पनि विकसित हुने अपेक्षा राख्दै हामी डीसी जाँदै छौं,’ अमेरिका प्रस्थान गर्नुअघि अन्नपूर्णसँग संक्षिप्त प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्रीले भने, ‘हाम्रो परराष्ट्र नीति स्पष्ट छ। त्यसमा अमेरिका जानकार छ।’

नेपाललाई अमेरिकाले पुरानो स्वतन्त्र मुलुकको हैसियतमा सम्बन्ध विस्तार गर्दै आएकाले यो वा त्यो मुलुकसँग दाँजेर हेर्न नमिल्ने धारणा मन्त्रीले व्यक्त गरे। नेपाललाई ‘भारतीय आँखाबाट हेरेको’ धारणा परिवर्तनको सन्देश दिनै यो छलफल हुन लागेको बताइएको छ।

मन्त्री ज्ञवालीले अमेरिकासँग नेपालका तीन वटा मुख्य अपेक्षा रहेको चर्चा गरे। ‘पहिलो- नेपालले शान्ति प्रक्रियामा पाएको सफलताको बजारीकरणमा सहयोग, दोस्रो- नेपालमा व्यापक लगानी र सहायता, तेस्रो- प्राथमिकताका आधारमा नेपालको मुलुकपिच्छे फरक सम्बन्ध रहेको धारणामा अमेरिकी साथ,’ उनले भने, ‘हाम्रो सम्बन्ध छिमेकबाट आरम्भ हुने भएपनि सबै मित्रसँग आफ्नै प्रकारको सम्बन्ध र महत्व रहेको सन्देश त्यहाँ दिनेछु।’

नेपाल र अमेरिकाबीच १७ वर्षपछि परराष्ट्रमन्त्रीस्तरीय औपचारिक छलफल र समीक्षा हुन लागेको हो। ‘नेपाल र अमेरिकाबीच दुईपक्षीय औपचारिक छलफल आवश्यक छ,’ मन्त्री ज्ञवालीले भने, ‘राजनीतिक अवस्था, नेपालको पछिल्लो प्राथमिकता, सहकार्य, विकासमा लगानी सबै विषयमा छलफल हुनेछ। अधिकतम भेटघाट हुनेछ।’

दुई उदाउँदो शक्तिबीच रहेको नेपालको बाटो कस्तो हुने भन्नेमा नेपाल सरकारले चाल्ने कदमले नै स्पष्ट पार्ने एक परराष्ट्र अधिकारीले बताए। उनले भने, ‘हामीले अफगानिस्तानको बाटो रोज्ने कि इजरायलको ? हुन त दुवैभन्दा हाम्रो कूटनीतिक परम्परा र सभ्यता फरक छ।’

अमेरिकाले नेपाललाई हेर्ने नीतिमा परिवर्तन आइसकेको आभास दिन यो छलफल राखेको अधिकारीहरूले बताए। नेपालमा कम्युनिस्ट सरकार बनेको र यसमा छिमेकको बढी चासो देखिएपछि अमेरिकाले सम्बन्ध-सीमक्षा गर्न चाहेको अर्का अधिकारीले बताए।

नेपाल अमेरिकी राडरमा भूराजनीतिक र रणनीतिक सहकार्यको लागि निकै आवश्यक रहेको मुलुकमा पर्छ। अमेरिकाले दक्षिण एसियाको लागि विस्तारित रणनीतिक सहकार्य नेपालसँग गर्नुपर्ने बताउँदै आएको छ। नेपाल र अमेरिकाबीच परराष्ट्रमन्त्रीस्तरमा सन् २००२ जनवरीमा काठमाडांैमा औपचारिक समीक्षा भएको थियो। त्यसयता राजनीतिक तहमा यो दोस्रो समीक्षा हो। बीचमा उच्च कर्मचारी तथा राजदूतस्तरमा मात्र छलफल हुँदै आएको थियो।

अमेरिकाले कांग्रेस नेता गणेशमान सिंहलाई बोलाएर सम्मान गर्दै प्रजातान्त्रिक मुलुकसँग सम्बन्ध उत्तम रहने संकेत गरेपछि उच्च नेतालाई औपचारिक निमन्त्रणा गरेकै छैन। हुन त अमेरिकाले नेपालका अधिकांश शीर्ष तहमा पुगेका नेतालाई तीन÷चार साता हुने अमेरिकी भिजिटर्स लिडरसिप प्रोग्राम (आइभीपी÷आईभीएलपी) मा बोलाउने गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली दुवै जना वर्तमान आईभीएलपी र तत्कालीन आईभीपी कार्यक्रममा सहभागी भइसके। अमेरिकाबाट नेपालतर्फ पनि उपमन्त्री स्तरको भ्रमणहरू धेरै भएपनि उच्चस्तरको भ्रमण हुन सकेको छैन। राष्ट्रपतिपछि शक्तिशाली मन्त्री मानिने अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले महत्वका साथ दिएको निमन्त्रणाबाट पनि भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।

परराष्ट्रमन्त्रीको नेतृत्वमा परराष्ट्र, गृह र अर्थका अधिकारी पनि सहभागी छन्। परराष्ट्र सचिव चीनबाट फर्केकै दिन अमेरिका उडे। उनले चीनसँग दुईपक्षीय संयन्त्रको विषयमा छलफल गरेका थिए।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत ५० अर्बभन्दा बढी नेपाली रूपैयाँ अनुदान सहयोग गर्दै आएको छ। नेपालले अमेरिकासँग थप सहयोगको अपेक्षा गरेको छ।यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *