नेकपाको राजनीतिक प्रतिवेदन विवाद अन्त्य

Sharing is caring!

असार २३, २०७६ । पार्टी एकताको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशन हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएसँगै राजनीतिक प्रतिवेदन प्रकाशन हुने भएको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अध्यक्षद्वय ओली र दाहालबीच भएको ‘वान टु वान’ छलफलमा सहमति भएपछि राजनीतिक प्रतिवेदन प्रकाशन हुने भएको हो ।

सत्तारुढ दल नेकपाको कार्यदिशा विवादले एकताको बाँकी काम टुंगो लगाउन अनिश्चित बन्नुका साथै प्रतिवेदन प्रकाशनमा आलटाल हुँदै आएको थियो । राजनीतिक प्रतिवेदन पार्टीको सचिवालय र स्थायी कमिटीले पारित गरे पनि कार्यदिशा विषयमा विवाद हुँदै आएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको एक वर्ष बितेसँगै कार्यदिशाको विषयमा विवाद सुरु भएको थियो । विवादसँगै एकताको बाँकी कामको टुंगो कहिले लाग्ने अनिश्चित बन्दै गएको छ ।
३ जेठ २०७५ मा दुई पार्टीबीच एकीकरण घोषणा गर्दै एकीकृत पार्टीको कार्यदिशा ‘जनताको जनवाद’ हुने घोषणा भएको थियो ।

तत्कालीन एमाले जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रले २१ औं शताब्दीको जनवाद र माओवादी कार्यदिशा छोड्दै जनताको जनवादमा सहमति गरेर पार्टी एकता भएको थियो । दुवै पार्टीले मान्दै आएको कार्यदिशा तत्कालका लागि छोड्ने र महाधिवेशनमा बहसमा लैजाने गरी सहमति गरेका थिए । नेकपा अध्यक्ष दाहालले पार्टी एकताको महŒवपूर्ण कडी राजनीतिक प्रतिवेदन टुंग्याइएको बताए । अध्यक्ष दाहालले सोमबार नै प्रिन्टमा जाने जानकारी पनि दिए ।

‘आज बिहान मात्रै बालुवाटारमा प्रधानमन्त्री ओली र मेरोबीचमा एक वर्षदेखि सम्पूर्ण रूपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । भोलि सोमबार त्यो प्रकाशनमा जाँदै छ,’ अध्यक्ष दाहालले भने, ‘पार्टी एकताका सन्दर्भमा यो एउटा ठूलो काम हामीले आज पूरा गरेका छौं ।’

राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा र संगठनात्मक नीति कुनचाहिँ आधिकारिक हो ? कुन नेताले भनेको पार्टीको लाइन हो ? कुन होइन भन्ने कन्फ्युज जस्तो देखिएको र अब प्रतिवेदन छापिएर आएपछि सबैखाले कन्फ्युजन हट्ने उनले बताए ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एमालेले अवलम्बन गर्दै आइरहेको जबजलाई पार्टीको कार्यदिशा बनाउनुपर्ने लबिङ गरेका थिए । यसैगरी, अर्का अध्यक्ष दाहाल पार्टी एकताका क्रममा भएको सहमतिअनुसार जनताको जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनुपर्ने अडानमा थिए ।

नेकपा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेता सचिवालय र स्थायी कमिटीले पारित गरेका विषयमा सामान्य भाषा सम्पादन गरेर छाप्न पठाउनुपर्ने पक्षमा थिए ।

पार्टीको कार्यदिशाका विषयका साथै अध्यक्षद्वय ओली र दाहालले पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा समेत छलफल गरेका छन् । नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टीको कार्यदिशाका साथै एकतासम्बन्धी बाँकी काम टुंगो लगाउने विषयमा सहमति भएको बताए ।

सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता टुंगो लगाएको नेकपामा अहिले जिम्मेवारी बाँडफाँटमा गम्भीर छलफल भएको छ । पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यको कार्य विभाजन, विभाग गठन, आयोगको गठन अझै टुंगो लागेको छैन । जिल्ला इन्चार्ज, सहइन्चार्ज र विभागको नेतृत्व टुंगो लगाउने विषयमा पार्टीभित्र विवाद छ । यो खबर आजको  राजधानी दैनिकमा  सुभाष साहले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *