अनौठो प्रथा अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा

Sharing is caring!

असार २३, २०७६ । अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ठिमाहा भनिन्छ ।

“विवाह नगरी बसेका बेला गाउँकै एक युवकसँग शारीरिक सम्बन्ध हुँदा छोरी जन्मिइन् । बुवाले एकसरो सबै व्यवस्था गरिदिनुभयो । दुःखजिलो गरेर बसेकी छु”, लिमी हल्जिकी कार्जाङ्मा तामाङले आफ्नो व्यथा सुनाउनुभयो । बुवाले माइतीको जग्गामै बनाएको घरमा बस्नुपर्ने गाउँको सामाजिक मान्यताअनुसार सम्पर्क गरेको केटा मान्छेले बच्चा जन्माउने कामबाहेक अन्य केही पनि सहयोग नगरेको उहाँको भनाइ छ ।

त्यसैगरी बुवाले दिएको गरिखाने जमिन, पशुबस्तु, भाँडाबर्तन, लत्ताकपडाका भरमै जीवन धान्दै आउनुभएकी ४५ वर्षीया कार्जाङ्मा तामाङसँग पछि अर्की छोरी पनि थपिएकी छन् । त्यो कसरी ? प्रश्न उठ्न सक्छ । घरमा श्रीमती भएकी अघोषित श्रीमान् त्यसरी एक्लै बसे पनि आउन छोड्दैनन् तर दायित्व भने केही लिँदैनन् । तामाङ भन्नुहुन्छ, “अर्की छोरी पनि तिनकै हो तर श्रीमान् भने सार्वजनिक रूपमा भन्न पाइँदैन, समाज नै यस्तो छ । ”

धनीका बाआमाका लागि त अविवाहित छोरीको व्यवस्था गर्नु सहजै होला तर गरिब परिवारलाई भने निकै बोझिलो भएको उहाँको तर्क छ । तर, समाजले यसलाई सहर्ष स्वीकार गरेको छ । बुवाको आर्थिक अवस्था कमजोर भएका कारण जेनतेन गरिएको व्यवस्थामै निर्भर रहँदै आउनुभएकी तामाङलाई हालसम्म बेलाबखत आउने केटाले केही पनि सहयोग गरेको छैन । जीवन धान्नकै लागि बर्खामा ताक्लाकोट काम गर्न जाने गरेको पनि उहाँले बताउनुभयो ।

तामाङजस्तै ३५ वर्ष उमेर पुग्नुभएकी लिमी जाङ्गकी नोरजिङ तामाङको पनि छोरा जन्मेको छ । बुवा केही हुनेखाने भएका कारण उहाँको व्यवस्था राम्रै छ । हालसम्म बुवाले व्यवस्था गरेको घरमा बस्दै आउनुभएकी नोरजिङका अघोषित श्रीमान् मन लागेका बेला भने आउने गरेका छन् । छोरा र आमालाई केही व्यवस्था गर्नु नपरेका उहाँका ती केटा मान्छे आउने, खाने र सुत्नेभन्दा अन्य केही पनि जिम्मेवारी लिँदैनन् । सामाजिक मान्यताअनुसार सबै कुरा स्वीकार गर्नु परेको नोरजिङको भनाइ छ ।

“के गर्नु, पहिले गल्ती भयो; अब सहज रूपमै बस्नु परयो”, उहाँले भन्नुभयो । समाजले अलि राम्रो दृष्टिले नहेर्दा भने केही खल्लो महसुस हुने नोरजिङको भनाइ छ । बिरामी हुँदा र अरू केही गाह्रोसाह्रो पर्दा भने पीडा खेपेको उहाँको भनाइ छ । वैधानिक श्रीमान् नहुँदा समस्या धेरै आउने गरेको यस्ता महिलाहरूको अनुभव छ । “म त मेरी छोरीलाई यो प्रथाबाट टाढै राख्छु”, नोरजिङको भनाइ छ ।

लिमीका तीन गाउँ तिल, हल्जी र जाङ्गमा यस्तो ठिमाहा प्रथा स्वीकार गरेर तीस जना महिला बसेका लिमा–६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । बहुपति प्रथाकै कारण केटी मान्छे बढी हुँदा धेरै पहिलेबाट यो समस्या उब्जिएकाले समाजले सहज रूपमा स्वीकार मात्र गरेको छैन, केही विभेदपूर्ण सामाजिक नियम पनि बनाएको छ ।

यसरी बसेकी महिला र उनीबाट जन्मेको बच्चालाई समाजमा तेस्रो दर्जामा राखी पुम्ताम्बा भनिने गरिन्छ । बच्चा १८ वर्ष पुगेपछि भने दोस्रो दर्जा टुट्यो भन्ने गरिन्छ । यो मध्यम दर्जा हो । औपचारिक विवाह परम्परालाई टोङ्बा भनिने जानकारी पनि अध्यक्ष पाल्जोरले दिनुभयो ।

कुनै जनसहभागिता गर्दा दर्जाअनुसार श्रमदान गर्नुपर्ने नियम छ । जब ठिमाहा प्रथाबाट जन्मिएको बच्चा १८ वर्ष नाघ्छ अनि उसलाई पनि दोस्रो दर्जामा लिने सामाजिक नियम छ । पहिले पहिले त केटा मान्छेले आफूबाट जन्मेको बच्चा र आमालाई केही पनि सहयोग गर्दैनथे । अचेल धेरथोर सहयोग गर्न थालिएकाले केटीलाई पनि अघोषित श्रीमान् छ भन्ने लाग्न थालेको वडाध्यक्षको भनाइ छ । आफूले कमाएकोमध्ये केही रकम दिने गरेको अविवाहित महिलासँग जोडिएका पुरुष थुक्दिन लामाले बताउनुभयो । घरको सम्पत्ति भने केही पनि नदिएको बरु आफू बेलाबेला गएर उतै खाने गरेको उहाँ निर्धक्क बताउनुहुन्छ । चलन यस्तै भएपछि केही गर्न बाध्य नभएको उहाँको भनाइ छ ।

यसरी जन्मिएको बच्चा र आमाको रेखदेखका लागि लोग्ने मान्छेलाई जिम्मेवार बनाउन नाता कायम र पालनपोषणका लागि अदालतमै जानुपर्ने तर्क जिल्ला सहन्यायाधिवक्ता उदयचन्द अधिकारीको छ । तर यसका लागि कानुनी उपचार लिन कोही पनि नआएको उहाँले बताउनुभयो । गाउँघरमा स्थापित मान्यताअनुसार नै चल्दै आएको हुनसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

यो प्रथाले झैझगडा पनि निम्त्याउने गरेको सहन्यायाधिवक्ता अधिकारीको भनाइ छ । स्थानीयभन्दा अरू मानिस विरलै आउने लिमी गाउँमा पछिल्लो पुस्ता सबै गाउँबाहिर जान थालेपछि यो प्रथामा केही कमी आएको अध्यक्ष पाल्जोर बताउनुहुन्छ । यो खबर आजको गोर्खापत्रमा राजन रावतले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *