पेलेरै जाने सत्तापक्षको तयारी

Sharing is caring!

माघ १७, २०७५ । डा. गोविन्द केसीको अनशनलाई पेलेरै जाने तयारी सत्तारुढ दल नेकपाले गरेको छ। राष्ट्रियसभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई बिहीबार जसरी पनि पारित गर्ने रणनीति सत्तापक्षको छ। यसका लागि नेताहरुले सांसदहरूलाई बुधबार सिंहदरबारमा ब्रिफिङ गरेका छन्।

विधेयक प्रतिनिधिसभाबाट पनि कांग्रेसको अवरोध र होहल्लाबीच पारित गरिएकोे थियो। केसीका माग ‘हुबहु’ पूरा गर्नेगरी विधेयक आएकोले अनशन बसिरहनुको तुक नभएको सत्तापक्षको जिकिर छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, राष्ट्रियसभा दल नेता दीनानाथ शर्मा, नेता योगेश भट्टराईलगायतले सत्तापक्ष र केसी पक्षका मागमा देखिएको अन्तर र सत्तापक्षले अवलम्बन गर्नुपर्ने रणनीतिबारे सांसदलाई ब्रिफिङ गरे।

नेकपा संसदीय दलका नेता शर्माले विधेयक पारित गर्ने विषयमा छलफल गरिएको बताए। ‘शिक्षामन्त्रीलगायतका पार्टी नेताहरू हुनुहुन्थ्यो। विधेयकमा उठेका जिज्ञासाका विषयमा उहाँहरुले प्रस्ट पार्नुभयो,’ शर्माले अन्नपूर्णसँग भने, ‘हामी राष्ट्रियसभाबाट विधेयक पारित गरेरै जाने पक्षमा छौं।’ उनले सत्तापक्षका अन्य तयारीबारे थप खुलाउन चाहेनन्। यद्यपि उनले भने, ‘गोविन्द केसीका अधिकांश माग पूरा भएका छन्। यसमा अल्झिरहनु पर्दैन। हामी विद्ययेक पारित गरेर अगाडि बढ्छौं।’

प्रतिपक्षी कांग्रेसले केसीको अनशन र आन्दोलनको बलमा विधेयकलाई पुनः प्रतिनिधिसभामै फर्काउन खोजिरहेको छ। तर सत्तापक्ष यसलाई जसरी पनि पारित गर्न चाहन्छ। विधेयकमा केसीका माग समेत सम्बोधन भएको भन्दै ‘दीपावली’ गर्ने रणनीति उसको छ। संसद्मा कांग्रेसले उठाउँदै आएको दुई पूर्वसभापतिका नाममा रहेको अस्पताल संघअन्तर्गत नै राख्ने मन्त्रिपरिषद्को निर्णय उपप्रधान तथा स्वस्थ्यमन्त्री उपेन्द्र यादवले सदनलाई जानकारी गराउने तयारी पनि गरिएको छ।

सांसदलाई ब्रिफिङ गर्नुअघि नेताहरूले नेकपा दलको कार्यालय सिंहदरबारमा पार्टी जनवर्गीय संगठनका अगुवा नेता–कार्यकर्तालाई पनि ब्रिफिङ गरेका थिए। केसीको अनशनलाई कांग्रेसले उचालिरहेको आरोप उनीहरुले लगाएका थिए। ‘कांग्रेसले यो अनशनलाई उचाल्ने काम गरेको छ। तर, यो योजना सफल हुँदैन। हामी विधेयक पारित गरेर आफनो सुरमा अगाडि जान्छौँ,’ कार्यकर्तालाई संसदीय दलका उपनेता नेम्वाङले भने।यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *