‘गणतन्त्र जोगाउन’ सर्वदलीय ऐक्यबद्धता

Sharing is caring!

भदौ ४, २०७६ । के संविधान र गणतन्त्रविरुद्ध नेपथ्यमा ‘षड्यन्त्र’ सुरु भएकै हो त ? प्रधानमन्त्रीको आह्वानमा मंगलबार अचानक बोलाइएको सर्वदलीय बैठकको मूल एजेन्डै त्यही रह्यो । र, संविधान बनाउने शक्तिहरू एकगठ भएर ऐक्यबद्धता जनाए, ‘संविधान, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका पक्षमा हामी सधैं, सबै, सँगै छौं।

बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ विषय उठान गरेका थिए– १. प्रणालीकै विरुद्ध आवाज उठ्न थालेका छन्, यो दुस्साहस कहाँबाट कसरी आयो ? २. बढ्दो हिंसाविरुद्ध शान्तिका पक्षमा सरकार एक्लै लड्ने कि विपक्षीले पनि साथ दिनुपर्ने हो ? ३. लोकतन्त्रका आधारभूत सबाल र संविधानलाई बलियो बनाउने विषयमा हामी सबै एक ठाउँ किन नहुने ?

संसद्मा सम्बोधनका क्रममा आइतबार प्रधानमन्त्रीले ‘चिहानमा गई हड्डी फुकेर अब पुरानो व्यवस्था फर्काउँछु नभने हुन्छ’ भन्ने कडा चेतावनी दिएका थिए । त्यसले पुरानो दरबारिया शक्तिको सलबलाहटको संकेत गरेको थियो । दुई दिनमै उनले सर्वदलीय बैठक बोलाएर त्यही परिस्थिति औंल्याए । सहभागी सबै दलका नेताले पनि त्यसलाई गम्भीरतापूर्वक लिएका छन्।

‘संविधान बनेको चार वर्षमै राजावादी सल्बलाउनुको कारण के हो ? प्रधानमन्त्रीज्यू, तपाईंले खोज्नुहोस्’, कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा भने, ‘संविधान हामीले पनि उत्तिकै लडेर ल्याएको हो । यसलाई जोगाउन, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई बचाउन हामी एक ठाउँ छौं।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार देउवाले सरकारका क्रियाकलापको आलोचना गर्दै राष्ट्रिय मुद्दामा भने सधैं साथ दिने प्रतिबद्धता जनाए । ‘तपाईंले विधयेकहरू ल्याउने क्रममा विपक्षीलाई हेप्नुभयो । अधिकार आफूमा केन्द्रित गर्नुभयो’, देउवाले भने, ‘त्यसमा भने व्यवहार सच्याउनुपर्छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले जुनसुकै समस्यालाई पनि गणतन्त्रविरुद्ध जोड्न थालिएकामा चिन्ता व्यक्त गरेका थिए । बाँकी नेताहरूको अनुभूति पनि त्यस्तै देखियो । र, गणतन्त्रविरुद्ध षड्यन्त्र कुनै हालतमा सफल नहुने सबैको धारणा रह्यो ।

‘तपाईं कामको गति बढाउनुहोस् । जनतालाई सुशासनको अनुभूति दिलाउनुहोस्’, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने, ‘राष्ट्रिय सरोकारका आधारभूत विषयमा हामी एक छौं।

राजपा संयोजक राजकिशोर यादवले देउवाका भनाइमा अधिकांशतः समर्थन गर्दै सबैलाई समेटर लैजान प्रधानमन्त्रीलाई आग्रह गरे । उनले पनि राष्ट्रिय सबालमा राजपाको साथ रहने प्रतिबद्धता जनाए ।

सिंगापुरमा उपचार गरेर फर्केपछि प्रधानमन्त्री ओलीको राजनीतिक क्रियाशीलता बढेको छ । पार्टीमा लामो समयदेखि विचाराधीन विभागीय जिम्मेवारी तत्काल टुंग्याए । लगत्तै संसद्मा सम्बोधन गर्न पुगे । सर्वदलीय बैठक बोलाएर सहमतिको राजनीतितर्फ अग्रसर भए ।

आफ्नो नेतृत्वमा सरकार बनेको १८ महिनापछि पहिलोपटक संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई उनले जुटाएका हुन् । त्यस क्रममा उनले राष्ट्रिय मुद्दामा पक्ष–विपक्षभन्दा एकताबद्ध भएर अघि बढ्न सबै दललाई आग्रह गरे । यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *