निर्मला हत्या प्रकरण: एसपी विष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

Sharing is caring!

कात्तिक ९, २०७५ ।  सरकारले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदीश भट्टलाई पदबाट बर्खास्त गरेको छ । निर्मलाको बलात्कार तथा हत्या प्रकरणको छानबिनमा लापर्बाही गरेको आरोपमा सरकारले विष्ट र भट्टलाई बर्खास्त गरेको हो ।

उनीहरूले बिहीबार मात्रै प्रहरी प्रधान कार्यालयमार्फत दोस्रो स्पष्टीकरणको पत्र गृह मन्त्रालयमा बुझाएका थिए । तर, गृहले भने जवाफ चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।

पन्त हत्याको अनुसन्धानमा लापर्बाही गरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत २९ असोजमा प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयमा पत्राचार गरेका थिए ।

उनीहरू दुवैलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिनेगरी बर्खास्त गर्ने निर्णय गरिएको हो । यसअघि गृह मन्त्रालयले एसपी विष्टलाई गत ९ भदौमा निलम्बन गरेको थियो ।

१० साउनमा साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट घरनजिकैको उखुबारीमा शव भेटिएको थियो ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बर्खास्त भएका प्रहरी अधिकारीहरूमाथि अनुसन्धानको निष्कर्षका आधारमा उनीहरूलाई थप कारबाहीसमेत हुन सक्ने जनाए ।

‘त्यो केसका विषयमा विभिन्न अनुसन्धान समितिले छानबिन गरेका छन्, त्यही छानबिनका आधारमा सरकारले बर्खास्त गरेको हुनुपर्छ, अब पनि त्यही आधारबाट कार्वाही हुन सक्छ,’ प्रहरी प्रवक्ताले भने ।

सो घटनामा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका निरीक्षक भट्टले अनुसन्धानमा लापर्बाही गरेको भेटिएको थियो ।

सरकारी छानबिन समितिले प्रहरीबाट लापर्बाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । दुवैले स्पष्टीकरणमा लापर्बाही नभएको दाबी गरेका थिए ।

गृहले बिहीबार प्राप्त गरेको दोस्रो स्पष्टीकरणसमेत चित्तबुझ्दो नभएको ठहर गर्दै प्रहरी नियमावलीनुसार दुवैलाई बर्खास्त गर्ने निर्णय गरेको गृह प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले प्रहरी प्रधान कार्यालयमार्फत बिहीबार गृह मन्त्रालयलाई स्पष्टीकरण बुझाएका थिए ।

यसअघि बुधबार मात्र एसपी विष्ट र निरीक्षक भट्टको पहिलो स्पष्टीकरण पत्र गृहमा बुझाइएको थियो । दोस्रो स्पष्टीकरण पत्रसमेत प्रधान कार्यालयले बिहीबार बुझेर बिहीबार नै गृहमा पठाएको थियो ।यो खबर आजको राजधानीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *