शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण गर्न अनुमति पाएन

Sharing is caring!

कात्तिक ९, २०७५ । शिक्षण अस्पतालले सुरु गर्ने भनेको कलेजो प्रत्यारोपण अन्योलमा परेको छ । अस्पतालले गत वैशाखदेखि नियमित कलेजो प्रत्यारोपण सुरु गर्ने बताए पनि सरकारले अनुमति नदिएका कारण अन्योल बनेको हो । कलेजो प्रत्यारोपण गर्न सरकारको अनुमति अनिवार्य हुन्छ । शिक्षण अस्पतालले ६ महिनाअघि नै कलेजो प्रत्यारोपणको तयारी पूरा भएको जनाएको थियो । शिक्षण अस्पतालमा डा.रमेशसिंह भण्डारीको नेतृत्वमा कलेजो प्रत्यारोपण सेवा सञ्चालन हुनेछ ।

समितिका संयोजक डा.भण्डारीले प्रत्यारोपणको अनुमति पाएमा केही हप्ताभित्रै सेवा सुरु हुने बताए । ‘कुनै कारणवश अनुमति दिन ढिलाइ भएको हुन सक्छ,’ उनले भने, ‘प्रत्यारोपण गर्न चाँडै अनुमति पाउने आशा गरेका छौँ । अनुमति पाएपछि बिरामीलाई सार्वजनिक रूपमै सेवा सुरु भएको जानकारी गराउनेछौँ ।’

 कलेजो प्रत्यारोपणको पर्खाइमा रहेका बिरामी फर्किए
गत वैशाखदेखि नियमित कलेजो प्रत्यारोपण हुने भनेकाले सात महिनादेखि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्न बिरामीहरूको भीड थियो । सस्तोमा सेवा पाउने आसमा १० जना बिरामीले प्रत्यारोपण गर्न नाम टिपाएका थिए । तर, पूर्वाधार पूरा भएको ६ महिनासम्म पनि अनुमति नपाएपछि उनीहरू अन्यन्त्रै जान थालेको अस्पतालले जनाएको छ । ‘हामीले वैशाखबाटै कलेजो प्रत्यारोपण सुरु हुने भनेका थियौँ,’ एक चिकित्सकले भने, ‘त्यही आसमा बिरामी सेवा लिन बसे । तर, सात महिनासम्म सेवा सञ्चालन स्वीकृति नपाएका कारण बिरामीहरू अन्यत्रै गएका छन् ।’

कलेजो प्रत्यारोपण सफल बनाउन आवश्यक एनेस्थेसिया, क्रिटिकल केयर सर्भिस, इन्टरभेन्स्नल रेडियोलोजी, प्याथोलोजी, हेपाटोलोजीलगायत अन्य तालिमप्राप्त विशेषज्ञ चिकित्सक अस्पतालमा तयारी अवस्थामा छन् । अस्पतालका अनुसार प्रत्यारोपणको अनुमति पाएमा पुनः बिरामी आह्वान गरी ओपिडीमा भर्ना गरी प्रक्रिया अगाडि बढाउनुपर्छ ।

 कति छन् बिरामी ?
चिकित्सकका अनुसार नेपालमा प्रतिवर्ष एक हजार व्यक्तिको कलेजोमा समस्या देखापर्छ । तीमध्ये २० प्रतिशतलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था हुन्छ । नेपालमा कलेजो प्रत्यारोपण अगाडि बढ्न नसकेका कारण वार्षिक कम्तीमा ७० जना बिरामीले भारतका विभिन्न अस्पताल पुगेर कलेजो प्रत्यारोपण गर्दै आएका छन् ।

शिक्षण अस्पतालले २५ लाख रुपैयाँसम्ममा कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ । भारतमा कलेजो प्रत्यारोपण गरेको ८० लाख नेपाली रुपैयाँ पर्ने शिक्षण अस्पतालका तत्कालीन निर्देशक डा. दीपकप्रकाश महराले बताए । सरकारले शिक्षण अस्पताललाई प्रत्यारोपण गर्न ११ करोड रुपैयाँ दिएको थियो ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *