दलहरुबीच दुई बुँदे सहमति : माओवादी नेता महरा र उनका छोरा राहुल पनि सुन प्रकरण अनुसन्धानमा तानिने

Sharing is caring!

भदौ ६, २०८० । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच बसेको बैठकले माओवादी नेता कृष्णबहादुर महरा जोडिएको सुन तस्करीका विषयमा छानविन गर्ने सहमति जुटाएका छन् ।

बुधबार प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बसेको बैठकमा माओवादी नेता महरा र उनका छोरा राहुलको नाम जोडिएको इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानविन गर्ने सहमति जुटाएको हो ।

इलेक्ट्रिक सिगरेट भेपमा ९ केजी सुन तस्करी गरिएको प्रकरणमा महरा परिवारको नाम जोडिदै आएको छ । चिनियाँ नागरिक ली हानसोङ २०७९ पुष १० गते फ्लाई दुबईको उडानबाट नेपाल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएको छानविनबाट पुष्टि भएको थियो । भेप शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा नै राखेर थप अनुसन्धान अघि बढाइएको थियो । भेप भन्सार गोदाममा रहेको बेला केही कर्मचारीलाई प्रयोग गरी भेप उम्काउन हानसोङ लगायतको सुन तस्कर गिरोहको टोली सफल भएको थियो । स्थानीय बजारको भेप लगेर फेर्नु अघि अर्थात सुन भएको भेप छुटाउन महरा बाबु–छोराले भन्सारका कर्मचारी, सुन ल्याउने चिनियाँ नागरिक हानसोङ लगायतका गिरोहका सदस्यसँग बारम्बार टेलिफोन गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

यस प्रकरणमा महराको नाम बारम्बार जोडिदा पनि सरकारले केही नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गर्दै आएका छन् । अझ देउवाले गृहमन्त्री श्रेष्ठलाई सरकारबाट हटाउनु पर्ने माग समेत प्रधानमन्त्री दाहालसमक्ष राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *