डा. केसीको समर्थनमा जुम्ली महिला सडकमा

Sharing is caring!

असार २७, २०७५ । ११ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागप्रति कठोर नबन्न जुम्ली महिलाले सरकारलाई सुझाब दिएका छन् । केसीको समर्थनमा मंगलबार र्‍याली निकालेका महिलाले जायज माग सम्बोधन गर्न माग गरेका छन् ।

आन्दोलनमा सहभागी रूपमा महतले केसीका माग नाजायज नभएको बताइन् । ‘आम नागरिक, गरिब र आर्थिक रूपमा कमजोर अभिभावकका छोराछोरीले निःशुल्क मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भन्ने डाक्टर केसीको माग नाजायज होइन,’ उनले भनिन्, ‘केसीको माग गलत हो भने के हामीले छोराछोरीलाई मेडिकल शिक्षा पढाउन सपना नदेखे हुने भयो ?’

र्‍यालीकी अगुवा महिला सीता बुढाले राज्यको मनपरीका कारण आफूहरू विरोधमा उत्रिन बाध्य भएको बताइन् । ‘डा. केसी प्रतिष्ठानमा छट्पटिइरहेका छन्, ११ दिनसम्म राज्यले कुनै चासो नदेखाएकाले दबाब दिन हामी आन्दोलनमा उत्रिनुपरेको हो,’ बुढाले भनिन् ।

खलंगामा केसीको समर्थनमा दिनहुँ आन्दोलन
केसीको समर्थन तथा राज्यलाई दबाब दिन सदरमुकाम खलंगामा दिनहुँजसो आन्दोलनका कार्यक्रम भइरहेका छन् । विभिन्न राजनीतिक दल, चिकित्सक, नागरिक समाज, महिलाहरूले आन्दोलन गर्दै आएका छन् । अनशनरत केसीलाई भेट्न जुम्ला आएका विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले केसीको माग राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

केसीको स्वास्थ्य अवस्था खस्किँदै
डा. केसीले अत्यावश्यक औषधिसमेत खान नमानेपछि स्वास्थ्य अवस्था झन् खस्किँदै गएको चिकित्सकहरूले बताएका छन् । उनलाई संक्रमणबाट बचाउन स्पेसल केयर युनिटमा राखेर निगरानी मात्र गरिएको डा. प्रवीणकुमार गिरीले बताए । छातीको बीचभागमा अत्यधिक दुख्ने, चक्कर लाग्ने, शरीरका मांसपेशी बाउँडिने समस्या देखिएको उनले बताए । केसीको पिसाबमा किटोन बढी देखिएको छ भने रगतमा चिनीको मात्रा कम भएको छ । सेता रक्तकोषिका क्रमिक रूपमा घट्दै गएको तथा मुटुको चाल तलमाथि भइरहेको गिरीले बताए ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिपक्षी सांसदहरूले केसीको स्वास्थ्य र उनका मागका सम्बन्धमा उठाएका प्रश्नको सोमबार र मंगलबार जवाफ दिए । मंगलबार राष्ट्रिय सभामा बोल्दै उनले सरकार केसीको उपचारमा गम्भीर भए पनि उनैले नमानेको बताए ।

संसद्मा शिक्षामन्त्रीले भने–उपचार गर्न केसी नै मान्दैनन् त के गरौँ ?
केसीको स्वास्थ्यप्रति गम्भीर भएर नै हामीले न्याम्सको विशेषज्ञ टोली जुम्ला पठायौँ । तर, उहाँले उपचार गर्न मान्नुभएन । अहिले पनि टोली जुम्लामै छ । अहिले हामी उक्त टोली फिर्ता बोलाएर नयाँ चिकित्सकको टोली पठाउने गृहकार्यमा छौँ । मुटु र क्रिटिकल केयरका डाक्टरहरूको टोली पठाउन गृहकार्य भइरहेको छ । हामी त पठाउन तयार छौँ, तर नयाँ टोलीसँग पनि उपचार नलिने केसीको जवाफ छ । जुम्लाबाट काठमाडौं ल्याएर उपचार गर्न विपक्षी दलहरूले पनि सहयोग गर्नुपर्‍यो ।

चिकित्सा शिक्षा विधेयक संसद्मा आएको छ । यसबारे घनिभूत छलफल हुन्छ । विगतमा धेरै प्रयास गर्दा पनि यो विधेयक पारित हुन सकेन, अब संसद्बाटै समाधान निकालौँ ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *