अनुगमन धेरै उपलब्धि थोरै

Sharing is caring!

असोज २३, २०८० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०-८१ को चाडपर्वलक्षित बजार अनुगमनमा केहीबाहेक सबैमा केही न केही कैफियत भेटिएको छ ।

विभागको नेतृत्वमा गएको असोज १ देखि सुरु भएको चाडपर्वलक्षित संयुक्त बजार अनुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको हो । विभागका अनुसार गएको असोज १ देखि २२ सम्म ५९७ वटा व्यावसायिक फर्मको अनुगमन भएकामा ११ वटा बाहेक अन्यमा केही न केही कैफियत भेटिएको छ ।

विभागले यस अवधिमा अनुगमन गरेकामध्ये १५९ वटा व्यावसायिक फर्मलाई न्यूनतम पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिबाना गरी ४९ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन भएको जनाएको छ । यस्तै सो अवधिमा उपभोग्य म्याद सकिएका सामान बिक्री गरेका २० वटा व्यावसायिक फर्मबाट एक करोड बराबरको सामान नष्ट गरेको विभागका महानिर्देशक तीर्र्थराज चिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अवधिमा अनुगमन गरिएका व्यावसायिक फर्ममध्ये २५६ वटा व्यावसायिक फर्मलाई आवश्यक सुधारका लागि निर्देशन दिइएको छ भने १६३ वटा व्यवसायी फर्मलाई व्यवसायी दर्ता नवीकरणको निर्देशन, स्पष्टीकरण तथा बयानका लागि आवश्यक कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको छ ।

विभागका अनुसार सो अवधिमा ५९७ वटा व्यावसायिक फर्मको अनुगमन भएकामा ११ वटा व्यवसायी फर्म सामान्य अवस्थामा रहेकाले नियममा रहेर व्यापार गरेको भन्दै धन्यवाद दिइएको छ ।

विभागका महानिर्देशक चिलवालले विभागले दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल, मासु पसल, औषधी, मिठाई पसल तथा होटललगायत क्षेत्रमा विभिन्न १३ वस्तुमा केन्द्रित गरेर अनुगमन गर्दा तोकिएकोभन्दा चर्को मूल्यमा बिक्रीवितरण भइरहेको, न्यून गुणस्तर, लेभल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेकोलगायतका समस्या देखिएको जानकारी दिनुभयो ।

अहिले विभागले पछिल्ला दिनमा औसत ४० वटा व्यावसायिक फर्ममा अनुगमन गरिरहेको छ । दसैँतिहारलगायत चाडबाडका बेला उपभोक्ता बढी ठगिने र बजारमा बढी समस्या देखिने भएकाले अनुगमनको सङ्ख्या बढाउन लागिएको चिलवालले जानकारी दिनुुभयो ।

खाद्य तथा किरानामा धेरै कैफियत

विभाग नेतृत्वको चाडपर्वलक्षित संयुक्त बजार अनुगमनका क्रममा सबैभन्दा धेरै खाद्य तथा किराना पसलको अनुगमन भएको छ । सो अवधिमा अनुगमनका क्रममा जरिबानामा परेका १५९ व्यावसायिक फर्ममध्ये ९५ वटा खाद्य तथा किराना पसल परेका छन् ।

ती पसलबाट ३३ लाख २५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । सो अवधिमा रेडिमेड तथा थान कपडाका सात वटा पसल जरिबानामा परेका छन् र जसबाट १० लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

त्यसै गरी तरकारी तथा फलफूल, माछामासुका १८ वटा पसललाई जरिबाना गरेर दुई लाख ३५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । त्यसै गरी दुई वटा पानी उद्योगलाई तीन लाख रुपियाँ जरिबाना गरिएको छ भने बाँकी जुत्ताचप्पल, मिठाई, भाँडाकुँडा, होटल तथा रेस्टुराँ, मदिरा तथा सुर्तीजन्य, इलेक्ट्रिक, ग्यास, फर्निचर कस्मेटिक गरी ३९ वटा व्यावसायिक फर्म जरिबानामा परेका छन् । ती व्यावसायिक फर्मबाट तीन लाख रुपियाँ जरिबाना सङ्कलन भएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

बजार सुुध्रिएन

विभाग नेतृत्वको संयुक्त बजार अनुगमनबाट सङ्ख्यात्मक रूपमा धेरै प्रगति देखिए पनि गुणात्मक रूपमा सुधार भएको पाइँदैन । सरकारको बजार अनुगमनका क्रममा गरिने जरिबानाले ठुलालाई पानपराग र सानाको घरबास उठ्ने समस्याबाहेक अन्य उपलब्धि हुन नसकेको टिप्पणी गर्नुभयो ।

उपभोक्ता जाँगर नेपालका अध्यक्ष कृष्ण भण्डारीले बजार अनुगमन गरेर सङ्ख्या बढाएर मात्रै बजारको अवस्था नसुध्रिने बताउनुुभयो । उहाँको अनुभवमा बजारमा कालो बजारी र म्याद नाघेका वस्तु बिक्री ठूला व्यापारी फर्मबाट खुलेआम रूपमा भइरहेको छ तर सरकारका नियमनकारी निकायले त्यस्ता व्यवसायी फर्मविरुद्धमा विभिन्न दबाब र प्रभावका कारण नियमन गरेर कारबाही गर्न सकेको छैन ।

वाणिज्य विभागको नेतृत्वमा असोज १ देखि संयुक्त रूपमा दैनिक ४० वटा समूहले अनुगमन गर्दै आएको छ । सामान्य अवस्थामा तीन वटा समूहले अनुगमन गर्दै आएकामा पछिल्लो पटक भने चाडपर्वलक्षित अनुगमनका लागि वाणिज्य विभागको नेतृत्वमा वातावरण, खाद्य प्रविधि तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल, औषधी व्यवस्था र आन्तरिक राजस्व विभाग तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा गरिरहेको छ ।

त्यस्तै चाडपर्वलक्षित अनुगमनतर्फ आउँदो हप्तादेखि थोक बिक्रेता, गोदाम र अधिक मूल्य वृद्धि भएका वस्तुको अनुगमनलाई तीव्र बनाउने विभागले जनाएको छ । अवाञ्छित मूल्य वृद्धि, न्यून गुणस्तर तथा कृत्रिम मौ  यो खबर गोरखापत्रबाट लिएका हौ ।ज्दातजस्ता सूचना भए पैसा नलाग्ने टेलिफोन नम्बर ११३७ मार्फत जानकारी दिन पनि विभागले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *