चिसोले तराई–मधेस अस्तव्यस्त

Sharing is caring!

पुस ११, २०७५ । पुस शुरू भएसँगै मध्य तराई र मधेसमा शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ। साँझ–बिहान चिसो बढेसँगै ३ दिनदेखि दिउँसो पनि घाम नदेखिँदा जनजीवन कष्टकर हुँदै गएको छ।

हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगा पहिरिन थालेका छन्। तर, आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोमजस्ता समुदायका लागि शीतलहर काल बनेर आउने गरेको छ। मध्य तराईको पर्सासहित बारा, रौतहटलगायतका तराईका जिल्लामा शीतलहरको प्रभाव बढ्दै गएको छ। चिसोका कारण दैनिक काम गरी खाने मजदुर बिहान–बेलुका बाहिर निस्कन सकेका छैनन्।

प्रदेश–२ को प्रमुख शहर वीरगन्ज महानगरमा चिसोले जनजीवन कष्टकर बनेको छ। ‘रिक्सा लिएर बजार ननिस्किए चुलो नबल्ने चिन्ता, निस्किए कठ्याङ्ग्रिँदो चिसोले ज्यानै जाने डर।’ –वीरगन्ज–१ का ठेला चलाउने रामदयाल सदाले बताउनुभयो। ठेला चलाएर थोरै आम्दानी हुने भएकाले छोराछोरीका लागि बाक्लो लुगा किन्न नसकेको सदाले बताउनुभयो।

सदाको जस्तै पीडा अन्य विपन्न समुदायका मजदुरको पनि रहेको छ। दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र रिक्साचालक जाडोबाट बढी प्रभावित भएका छन्।

जाडो र शीतलहरका कारण बालबालिकामा निमोनियाको प्रकोप देखिन थालेको छ। दमका रोगीको संख्या पनि बढेको चिकित्सकहरूले बताएका छन्। वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीको चाप बढेको छ। यसैबीच शीतलहरका कारण काठमाडौं–सिमरा हवाई सेवा पनि अवरुद्ध भएको छ। पुस लागेपछि नै हवाई सेवा अवरुद्ध हुँदा यात्रु मारमा परेका छन्।

तराई–मधेसमा वर्षेनि शीतलहरका कारण स्थानीयले ज्यान गुमाउने गरेका छन्। शीतलहरबाट जोगाउन वीरगन्ज महानगरपालिकाले चोक–चोकमा आगो ताप्ने व्यवस्था गर्ने नगर प्रमुख विजय सरावगीले बताउनुभयो।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *