घूस लिएको अभियोगमा सहायक डिनसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Sharing is caring!

असार २५, २०७६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा त्रिविका सहायक डिन र प्रहरी निरीक्षकसहित ९ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय कीर्तिपुरका सहायक डिन शम्भुप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । पटेलले कलेज सञ्चालनको अनुमतिपत्र रद्द हुन सक्छ भन्ने डर देखाई सञ्चालकसित ५० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले बारा, पचरौता नगरपालिकाका इन्जिनियर रामप्रकाश सतरासहित तीन जनाविरुद्ध पनि मुद्दा दायर गरेको छ । सतरा, नगरपालिकाकै नायब सुब्बा बद्रीबहादुर थापा र कार्यालय सहयोगी ध्रुव महतोले विद्यालयको कम्पाउन्ड वाल निर्माण सम्पन्न भएपछि भुक्तानीका लागि सिफारिस गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

रोल्पाको माडी–लुंग्री–करिडोर सिँचाइ आयोजनाका डिभिजनल इन्जिनियर उग्रनाथ झा र इन्जिनियर तारा श्रेष्ठविरुद्ध मंगलबार नै मुद्दा दायर गरिएको छ । झा र श्रेष्ठले मिलेमतोमा योजनाको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग १ लाख रुपैयाँ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।

अख्तियारले सबडिभिजन वन कार्यालय, दाङका सहायक वन अधिकृत रामाज्ञाप्रसाद साहविरुद्ध पनि मुद्दा दायर गरेको छ । साहले देउराली सामुदायिक वन उपभोक्ता समूहको विधान र कार्ययोजना दर्ता, स्वीकृत र सिफारिस गरिदिएबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले तीनवटा घटनामा घूस लिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहविरुद्ध तीनवटा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । दुइटा लागूऔषध मुद्दामा ७० हजार र ९० हजार तथा सवारी दुर्घटना मुद्दामा ३० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले तीनवटा छुट्टाछुट्टै भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

उनका अनुसार अख्तियारले तीनवटा छुट्टाछुट्टै अभियोगमा साहविरुद्ध घूस रकमबराबर जरिवाना र जेल सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

अख्तियारले भोजपुरको हतुवागढी गाउँपालिकाका सबइन्जिनियर नइन्द्र पारुहाङ राईविरुद्ध समेत मुद्दा दायर गरेको छ । राईले सडक निर्माण, स्तरोन्नति र पोखरी निर्माणको मूल्यांकन बिल बनाइदिने क्रममा सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएकाले अख्तियारले मुद्दा दायर गरेको हो । यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *