एक हजार ५० नयाँ पेट्रोलपम्प खोल्न आवेदन

Sharing is caring!

कात्तिक २३, २०७६ । नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर एक हजार ५० वटा नयाँ पम्प खोल्ने इजाजत माग भएको नेपाल आयल निगमले जनाएको छ । निगमले विनियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड तयार गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले विभिन्न ठाउँमा पम्प खोल्नका लागि माग भएकाले स्थान र सञ्चालनकहरुको कागजपत्र अध्ययन भइरहेको जानकारी दिए । केही समय अध्ययन गरेर मात्र अनुमति पाउने÷नपाउने टुङ्गो लाग्ने उनले बताए ।
प्रक्रिया पूरा गरेका सबै पम्पहरुलाई अनुमति दिने तयारी निगमको छ । निगमले २०७६ वैशाख १७ गते नयाँ पम्पका लागि आवेदन माग गरेको थियो । यस अघि २०६८ सालदेखि निगमले नयाँ इजाजत दिन बन्द गरेको थियो । निगमको नयाँ मापदण्ड अनुसार पम्प सञ्चालका लागि पूर्व–पश्चिम राजमार्गमा कम्तीमा १० कठ्ठा, व्यापारिक सडकमा सञ्चालन गर्न कम्तीमा ८ कठ्ठा, गाउँमा सञ्चालन गर्न ६ कठ्ठा र नमुना पम्पका लागि २० कठ्ठा जग्गा हुनुपर्ने छ ।

पम्पमा जडान हुने सफ्टवेयरलाई निगमको सफ्टवेयरसँग जडान गर्न मिल्ने सिस्टम राख्नुपर्ने, पार्किङको सुविधा, फायर इस्टिंग्यूसर, दक्ष कर्मचारी, शौचालय, विश्राम गृहलगायतका पूर्वाधार अनिवार्य गरिएको छ । पम्पको अनुमति लिन १० लाख धरौटी र ५० हजार आवेदन शुल्क सञ्चालकले बुझाउनु पर्छ । नयाँ पम्प सञ्चालनका लागि गाउँपालिकाका केन्द्रहरुबाट पनि धेरै माग आएको निगमले जानकारी दिएको छ ।
स्थानीय तहको पुनःसंरचनासँगै गाउँपालिकामा बढ्दो चहलपहलकै कारण पेट्रोल पम्पहरु बढी मात्रामा त्यस्ता ठाउँहरुमा सञ्चालन हुन लागेको उनको भनाइ छ । यसअघि सदरमुकाम र राजमार्गमा मात्र पम्प सञ्चालन हुने गरेको थियो । अब गाउँपालिकाको केन्द्रमै पम्प सञ्चालन हुने भएपछि इन्धनकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास निगमले लिएको छ ।
पछिल्लो समय मुलुकभर पेट्रोलियम पदार्थको खपत बढ्दो छ । त्यसकारण पनि पम्प संख्या थप्नुपर्ने बाध्यता छ  । हाल दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल खपत हुँदै आएको निगमको तथ्यांक छ ।
सातवटै प्रदेशलाई लक्षित गरी निगमले पम्म खोल्नसक्ने व्यवस्था गरेको छ । निगमका अनुसार साधरण विक्रेता र पेट्रोल विक्रेताबीचको बिक्री स्थलको दूरी कम्तीमा ३ सय मिटर हुनुपर्नेछ । तर, पूर्वपश्चिम राजमार्गको हकमा भने उक्त दूरी ५ सय मिटर बाहिर हुनुपर्नेछ । यो खबर कारोबारबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *