वैशाख १ गतेबाट ठमेल र दरबारमार्ग २४सै घण्टा खुल्ने

Sharing is caring!

चैत १८, २०८० । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १ गतेबाट खोल्ने तयारी गरेको छ। यसका लागि चाहिने आवश्यक मापदण्डको मस्यौदा तयार भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

विश्वमा पर्यटकीय नगरिका रूपमा परिचित ठमेल २४ सै खण्टा खुला हुँदा आर्थिक गतिविधि बढ्ने आँकलन सरकारले गरेको छ। राति खुलाउँदा घरबेटीलाई डिस्टर्ब हुन्छ भन्ने विषयका बारेमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता हरिप्रसाद शर्माले उद्योगी, मजदुर, ट्याक्सी व्यवसायी, काठमाडौं महानगरपालिका, सुरक्षा समितिलगायतसँग ठमेल खुलाउने विषयमा छलफल भइरहेको बताउनुभयो। ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्रालय स्रोतले जनाएको छ।

उता, जिल्ला प्रशासन कार्यालयले पनि गृह मन्त्रालयसँग समन्वय गरी योजना बनाइरहेको जनाएको छ । केही समय लगाएर दिगो किसिमले ठमेल र दरबारमार्ग खोल्ने गृहकार्य भइरहेको जानकारी दिँदै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो– ‘ठमेल खोल्दा सबैले अपनत्वको महसुस गर्नुपर्दछ ।’

वस्तु र सेवाको मूल्यका विषयको जिज्ञासामा भने जिल्ला प्रशासन कार्यालयले दिउँसो र रातिको समयमा फरक मूल्य नहुने गरी काम गरिरहेको छ। २४ सै घण्टा ठमेल क्षेत्र खुला गर्ने विषयलाई पर्यटन व्यवसायीले समेत स्वागत गरिसकेका छन् । जोखिम पक्षका बारेमा भने छललफल भइरहेको छ।

राति मदिरा सेवन गरी होहल्ला, कुटपिट हुने सम्भावना मुख्य चुनौतीको रूपमा रहेको छ । त्यसका साथै ठमेल र दरबारमार्ग वरपरका रहेका घरमा होटल तथा बारमा बजाइने संगीतले सुत्न नसकिने वातावरण सिर्जना हुनेछ भने चोरी, डकैती बढ्नसक्ने सम्भावना पनि रहेको छ।

राजधानी सहर काठमाडौंमा अवस्थित पर्यटकीय स्थानमा पसल, क्याफे, होटेल र पर्यटकीय कम्पनीहरू रहेको सुन्दर ठाउँ खुलाउनु आवश्यक थियो।

यहाँको रात्रि जीवन एकदमै मनोरञ्जनात्मक हुने जानकारहरू बताउँछन्। ठमेललाई कहिले नसुत्ने र बन्द नहुने इलाकाको रूपमा लिइए पनि आधिकारिक रूपमा भने यसले मान्यता पाएको छैन। यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *