इपीजीद्वारा साझा प्रतिवेदन तयार

Sharing is caring!

असार १७, २०७५ । नेपाल–भारतबीच विगतका सन्धी/सम्झौता पुनरावलोकनका लागि राय सुझाव दिन गठित प्रवुद्ध व्यक्ति समुह (इपीजी)ले साझा प्रतिवेदन तयार गरेको छ । तोकिएको २ वर्षे कार्यअवधि अगावै इपीजीको नवौं बैठकले साझा प्रतिवेदन तयार गरेको हो ।

निकै चर्चामा रहेको सन् १९५० को शान्ति तथा मैत्री सन्धी, जलस्रोत, खुला सीमा व्यवस्थापन, व्यापार, पारवहनलगायतका विषय समेटेर एउटै प्रतिवेदनलाई अन्तिम रुप दिइएको समूहको नेपालतर्फको सचिवालयले जनाएको छ । यसैगरी आतंकवाद, लागु औषध नियन्त्रण, अवैध मुद्राको कारोवार नियन्त्रणजस्ता विषयबारेको सुझावलाई पनि प्रतिवेदनमा समेटेको बताइएको छ ।

शुक्रवार काठमाडौंमा शुरु भएको समुहको नवौं तथा अन्तिम संयुक्त बैठक शनिबार सम्पन्न भएको हो । दुवै मुलुकबाट ४/४ जना प्रवुद्ध व्यक्ति संलग्न समुहको २ वर्षे कार्यअवधि यही सातासम्म तोकिएको छ । १९५० को सन्धी पुनरावलोकन गर्ने विषय पहिलो बैठकदेखि नै हरेक बैठकमा इपीजीको मुख्य एजेण्डा बनेको थियो । सो सन्धी पुनरावलोकन गर्न भारतीय पक्ष सकारात्मक बनेपछि अन्य समग्र विषयलाई समेटेर अहिले साझा प्रतिवेदन तयार पारिएको समुहका नेपालतर्फका एक सदस्यले बताए ।

‘१९५० को सन्धी पूर्ववत अवस्थामा रहँदैन, २१ औं शताब्दी सुहाउँदो सन्धी पुनरावलोकन गर्न सुझाव समेटिएको छ’– ती सदस्यले नेपाल समाचारपत्रसँग भने । दुवै मुलुकसँग सरोकार राख्ने अधिकांश विषयमा साझा धारणा र सुझाव समेटेर रिपोर्ट तयार गरिएको उनले बताए ।

 

गत वर्ष भारतको दिल्लीमा सम्पन्न समुहको छैठौं बैठकमा सो सन्धी पुनरावलोकन गर्न भारतीय पक्ष लचक भए पनि अन्तिम बैठकसम्म दुवै पक्ष निष्कर्षमा पुग्न सकेका थिएनन् ।

साझा प्रतिवेदनमा समेटिएका राय/सुझावलाई दुवै मुलुकका प्रधानमन्त्रीलाई बुझाएपछि मात्रै औपचारिक रुपमा सार्वजनिक गरिने नेपालतर्फको सचिवालयले जनाएको छ ।

‘इपीजीको नवौं र अन्तिम बैठक सफलतापूर्वक सम्पन्न भएको छ, बैठकले साझा प्रतिवेदन तयार गरेको छ, प्रतिवेदन तोकिएको कार्यअवधि अगावै दुवै मुलुकका प्रधानमन्त्रीलाई बुझाइने छ’–बैठकपश्चात् जारी विज्ञप्तीमा भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकाल र उहाँका वर्तमान भारतीय समकक्षी नरेन्द्र मोदी प्रधानमन्त्रीत्वकालमा समुह गठन भएकाले साझा प्रतिवेदन कार्यान्वयन हुने दुवै तर्फका सदस्यहरुको दावी छ । शनिवार केही ढिलो गरी विहान साढे ११ बजे मात्रै बैठक शुरु भएको थियो । दुवै समुहले करिव आधा घन्टा छुटाछुट्टै छलफल गरेपछि मात्रै संयुक्त बैठक शुरु भएको थियो ।

यसैबीच बैठक समापन भएपछि नेपालतर्फको टोली प्रधानमन्त्री ओलीसँगको भेटका लागि पुगेर प्रतिवेदनमा समेटिएका मुख्य विषय अवगत गराएको बताइएको छ । इपीजी समुहमा नेपालबाट पूर्वमन्त्री डा. भेषबहादुर थापा, पूर्वमन्त्री निलाम्बर आचार्य, जल तथा कानूनविज्ञ सूर्यनाथ उपाध्याय र नेकपाका नेता डा. राजन भट्टराई सदस्य हुनुहुन्छ ।

भारतीय पक्षबाट भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारी, नेपालका लागि पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्धय महेन्द्र पी लामा र बीसी उप्रेती रहनुभएको छ ।यो खबर आजको नेपाल समाचारपत्रमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *