नेकपाको ‘अन्डरलाइन’ हट्यो

Sharing is caring!

जेठ १८, २०७५ । पार्टीको नाम मुनी ‘अन्डरलाइन’ राख्ने विषयको आलोचना भएपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टीले त्यसमा परिवर्तन गरेको छ । परिवर्तित नाममा ‘अन्डरलाइन’ हटाएर कोस्टक थपिएको हो । अब पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ राख्ने प्रस्ताव गरिएको छ ।

पार्टीले परिवर्तित नामको जानकारी दिँदै उक्त नाम पाउनुपर्ने मागसहितको प्रस्ताव बिहीबार निर्वाचन आयोगसमक्ष राखेको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नाम परिवर्तनसहितको प्रस्ताव आए पनि त्यस विषयमा आयोगले निर्णय लिन बाँकी रहेको बताए ।
नेपाल कम्युनिस्ट पार्टी नामको दल यसअघि नै आयोगमा दर्ता छ । एउटै नाममा दुइटा पार्टी दर्ता हुन नसक्ने कानुनी प्रावधान रहेकाले एकीकृत पार्टीले नेपाल कम्युनिस्ट पार्टी मुनी ‘अन्डरलाइन’ थपेर आयोगमा नाम दर्ताका लागि निवेदन दिएको थियो । तर, ‘अन्डरलाइन’ मात्रैले नाम फरक नहुने भन्दै आलोचना बढेपछि पार्टीले नाम परिवर्तन गरेको हो ।
‘कानुन महाशाखाबाट एकीकृत पार्टीको दर्ता सम्बन्धमा आवश्यक अध्ययन भइरहेको छ,’ पौडेलले भने, ‘सचिवालयले सबै डुकुमेन्ट पेस गरेपछि आयोग बैठक बसेर पार्टीको नाम र दर्ताको विषयमा निर्णय गर्नेछ ।’ कानुन महाशाखा स्रोतका अनुसार आयोगले नपुग केन्द्रीय सदस्यको नागरिकता, पार्टीको विधान र घोषणापत्रलगायतका डकुमेन्ट मागेकामा पार्टीले बुझाइसकेको छ ।
कुल केन्द्रीय सदस्य संख्याको ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी प्रावधान छ । एकीकृत पार्टीमा महिला प्रतिशत भने पुगेको छैन । त्यस विषयमा आयोग बैठकबाटै केही निर्णय हुन सक्ने स्रोतले बतायो । ‘महिलाको संख्याबाहेक अन्य डकुमेन्ट करिब करिब पूरा छन्,’ महाशाखाका एक अधिकारीले भने, ‘आगामी साता आयोग बैठकले पार्टी दर्ता सम्बन्धमा निर्णय लिनेछ ।’यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *