उपत्यकासहित देशैभर चिसो बढ्दै

Sharing is caring!

कात्तिक १२, २०७५ । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैँअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।

तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको छ । यद्यपि, दिउँसोको समयमा भने तापक्रम केही बढी छ । १९ असोजमा मनसुन सकिएपछि पश्चिमी वायुको प्रभाव बढ्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । ‘राजधानी काठमाडौंलगायत देशैभर बिहान–बेलुका चिसो बढेको छ,’ मौसमविद् शान्ति कँडेलले भनिन्, ‘तराई–मधेसका केही जिल्लामा हुस्सु लाग्न थालेको छ भने चिसो पनि बढेको छ ।’

१५ मंसिरदेखि १५ माघसम्मका २ महिनामा सबैभन्दा बढी चिसो हुने महाशाखाले जनाएको छ । सो अवधिमा तराई–मधेसका जिल्लामा शीतलहर चल्ने गरेकाले कठ्यांग्रिएर बर्सेनि थुप्रैले ज्यान गुमाउँदै आएका छन् । सो अवधिमा हरेक वर्ष सरदर सयजनाको मृत्यु हुने गरेको गृह मन्त्रालयले जनाएको छ । त्यसैले यसवर्ष मानवीय क्षति कम गर्न विशेष तयारी सुरु गरिएको गृहको भनाइ छ ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *