विवाह पञ्चमीमा विशेष सुरक्षा, ड्रोनबाट भीड निगरानी

Sharing is caring!

मंसिर २४, २०७५ ।  विवाह पञ्चमीका लागि बुधबार जनकपुरमा विशेष सुरक्षा अपनाइने भएको छ । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने कार्यक्रम रहेकाले सुरक्षा निकाय चनाखो बनेका छन् ।

आगामी बुधबार हुने राम–जानकी विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको छ । सेनालाई स्ट्यान्डवाई राखिने भएको छ । दर्शनार्थीको भीडमा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको छ ।

समितिको आइतबार बसेको बैठकले जानकी मन्दिर र रंगभूमि मैदानमा प्रवेश गर्ने सबैलाई मेटल डिटेक्टर गेटबाट मात्र पठाउने निर्णय गरेको छ । यी दुवै स्थानमा दर्शनार्थीको ठूलो भीड हुन्छ । आदित्यनाथ जानकी मन्दिर र रंगभूमि मैदान पुग्दा भीड व्यवस्थापन प्रमुख चुनौती हुने आकलन सुरक्षा निकायले गरेका छन् ।

आदित्यनाथ उत्तर प्रदेशबाट जहाजमा सिधै जनकपुर अवतरण गर्नेछन् । उनी दिनभर तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । धनुषाका सीडीओ प्रदीपराज कँडेलले एयरपोर्ट, जानकी मन्दिर, रंगभूमि मैदान र प्रदेश सरकारको सचिवालय रहेको मधेस भवनका लागि फरक–फरक सुरक्षा बन्दोबस्त मिलाइएको बताए । उनी एयरपोर्टबाट सिधै जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना गर्नेछन् । त्यहाँबाट प्रदेश सचिवालय पुग्ने छन् । उनको सम्मानमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिवाभोज (भण्डारा) आयोजना गर्ने कार्यक्रम छ । दिवाभोजलगत्तै आदित्यनाथ रंगभूमि मैदानमा आयोजना गरिने राम–सीताको प्रतीकात्मक वैवाहिक विधिमा उपस्थित हुनेछन् ।

प्रदेश २ का प्रमुख डीआईजी हरिबहादुर पालले सुरक्षाको सबै योजना तयार पारिएको बताए । उनले नेपाल र सशस्त्र प्रहरीका ३ हजार सुरक्षाकर्मी परिचालन गरिने र त्यसका लागि बाहिरबाट पनि थप सुरक्षाकर्मी झिकाइएको जानकारी दिए । जनकपुरमा मंगलबार र बुधबार रक्सी, माछा–मासुको बिक्री वितरण तथा सेवनमा निषेध गरिएको सीडीओ कँडेलले बताए ।

ड्रोनबाट भीड निगरानी

राम–जानकी विवाह महोत्सवमा नेपाल प्रहरीले ड्रोनबाट भीडको निगरानी गर्ने भएको छ । मुख्य प्रवेशद्वारमा ‘वाक थ्रु गेट’ बाट पनि भीडको निगरानी गरिने डीआईजी पालले बताए । आदित्यनाथको भ्रमणका कारण पनि मेलामा दर्शनार्थीको चाप बढ्ने सुरक्षा निकायको अनुमान छ । मंसिर २५ गते रातिदेखि २६ गतेसम्म जनकपुरमा सवारीसाधन प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ ।यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *