९ महिनामै बिग्रियो ध्वनि प्रदूषण जाँच मेसिन खेर गयो, राज्यको पौने २ करोड रकम

Sharing is caring!

बैशाख १८, २०७६ । सवारीसाधनबाट उत्पन्न हुने ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले १ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको ४० वटा अटोमेटिक इमिसन एनालाइजर मेसिन प्रयोगविहीन अवस्थामा पुगेका छन् ।

यातायात व्यवस्था विभागले मुलुकभरका यातायातको ध्वनि प्रदूषण मापन गर्न एक वर्षअघि खरिद गरिएका ती अटोमेटिक इमिसन एनालाइजर मेसिन ९ महिनाअघि १४ वटै अञ्चलस्थित यातायात व्यवस्था कार्यालयलाई वितरण गरेको थियो । सवारीसाधनबाट ध्वनि प्रदूषण बढेको निष्कर्ष निकाल्दै सवारी सञ्चालन गर्नुपूर्व ध्वनि मापन गरी जाँच पास दिएपछि मात्र सञ्चालन अनुमति दिनु भन्दै ती वितरण गरिएको थियो । तर, कतिपय मेसिन प्रयोगमै ल्याइएको छैन भने कतिपय काम नलाग्ने भइसकेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालका अनुसार मेसिन चलाएर ध्वनि मापन गरेर जाँचपास दिँदा भन्दा नजाँची दिँदा व्यक्तिगत लाभ लिन पाइने भएकाले अञ्चलस्थित कार्यालयका मेकानिकल इन्जिनियरहरूले ती मेसिन प्रयोगमै ल्याएनन् ।

तर, यातायात व्यवस्था कार्यालय मेचीका मेकानिकल इन्जिनियर विजय अधिकारीका अनुसार एक वर्ष वारेन्टी भएका ती अटोमेटिक इमिसन एनालाइजर मेसिन प्रयोगमा ल्याएको आठ महिना पनि नबित्दै बिग्रिएका छन् ।
यातायात व्यवस्था कार्यालय सगरमाथा लहानका मेकानिकल इन्जिनियर गोपिचन्द्र बोहराले भने, ‘हामीले प्रयोगमै ल्याएका छैनौं, विभागले पठाएदेखि नै प्रयोगहीन अवस्थामा छ ।’

खरिदमा कमिसन जोडिएको तथा विभागका सिनियर इन्जिनियर प्रेम सिंहको लापर्बाही र व्यक्तिगत स्वार्थका कारण धेरैजसो कार्यालयले माग नै नगरी सो मेसिन पठाएको स्रोतले बताएको छ । सिंहले भने यस विषयमा केही बोल्न चाहेनन् ।

यातायात व्यवस्था कार्यालय कोसीका मेकानिकल इन्जिनियर राजकुमार गुप्ताले मेसिन सञ्चालन तरिकाबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । ‘त्यो मेसिनले कसरी काम गर्छ, कसरी चलाउने हो, केही थाहा छैन, विभागले पठाएदेखि नै थन्क्याएर राखिएको छ,’ उनले भने ।इन्जिनियरका अनुसार कमिसनको लोभमा खरिद गरिएको त्यो मेसिन प्रयोगबारे प्रशिक्षण नै नदिई पठाएकाले प्रयोगमा ल्याउन नसकिएको हो ।

यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर महेश थापामगरले झन्डै १ सय जति सवारीको ध्वनि मापन गरेर जाँच पास दिए पनि दक्ष जनशक्तिको अभावमा ती मेसिन थन्किएको वताए ।

नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने राज्यकोषबाट खरिद भएको अटोमेटिक इमिसन एनालाइजर मेसिन किन र कसको कमजोरीका कारण प्रयोगमा ल्याइएन या चाँडै बिग्रियो, खोजी गर्नुपर्ने बताए । उनले भने, ‘हामी यातायात क्षेत्रलाई फिल्टर गर्न खोजिरहेका छौं तर सरकारी अधिकारी र कर्मचारीबाटै लापर्बाही हुन्छ । व्यक्तिगत स्वार्थमा यस्तो काम गरिएको हो भने हामी यसको निन्दा गर्छाैं ।’ यो खबर टीकाराम नेतीले राजधानी दैनिकमा  लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *