पाँचथर सामूहिक हत्या प्रकरण: मुकुन्डो लगाएर नौ जनाको विभत्स हत्या, हत्याको कारण पारिवारिक खटपट: प्रहरी

Sharing is caring!

जेठ ८, २०७६ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार मध्यराति भएको विभत्स हत्याको घटना पारिवारिक खटपटका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवरले घटनामा दुई परिवारका नौ जनाको हत्या भएको र प्रारम्भिक अनुसन्धानले पारिवारिक सम्बन्धमा खटपटका कारण हत्या भएको देखाएको जनाएका हुन् । उनका अनुसार घटनामा एक परिवारका पाँच र अर्को परिवारका चार गरी नौ जनाको हत्या भएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले धारिलो हतियारको प्रयोग भएको पाइएको जनाए । उनले समेत घटनाको प्रारम्भिक अनुसन्धानले हत्यामा पारिवारिक कारण देखाएको जनाए ।

‘घटनामा दुई परिवारका गरी नौ जनाको हत्या भएको हो, हत्या अत्यन्तै विभत्स र क्रुर तरिकाबाट भएको छ, प्रारम्भिक अनुसन्धानले हत्यामा पारिवारिक कारण देखाएको छ,’ प्रमुख जिल्ला अधिकारी वस्तीले राजधानीसँग भने, ‘अन्य थप अनुसन्धान विशेषज्ञ टोलीबाट हुँदै छ ।’हत्या हुनेहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज सेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा सेर्मा, १३ वर्षीया योवना सेर्मा, आठ वर्षीया मुना सेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

घटनामा भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खजुमले घटनामा मुकुन्डोधारी व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गराएको बयान प्रहरीलाई दिएकी छन् । उनको हात भाँचिएको छ । उनी भागेर मकैबारीमा पुगेपछि बाँच्न सफल भएको प्रहरीले बताएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी वस्तीले घटनाको थप अनुसन्धानका लागि प्रदेशबाट १५ जनाको विशेषज्ञ टोली घटनास्थल पुगेको र थप अनुसन्धान गरिरहेको जनाए । उक्त टोली तालिम प्राप्त कुकुरसहित घटना स्थल पुगेको हो । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *